काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले पार्टीका सांसद खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन अघि बढाइएको बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले सुनारसँग सम्बन्धित विषय पार्टीको अनुशासन आयोगमा पठाइसकिएको र आयोगले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिए।

उनका अनुसार सुनारमाथि लागेका आरोपसँग सम्बन्धित केही प्रमाण सार्वजनिक भएकाले ती सामग्रीको सत्यता परीक्षण गर्न आवश्यक देखिएको हो।

‘यो विषयमा केही प्रमाणसहित कुरा बाहिर आएको छ। ती प्रमाण सही हुन् वा होइनन् भन्ने यकिन गर्नुपर्ने भएकाले पार्टीको छानबिन गर्ने निकाय अनुशासन आयोगमा पठाइएको छ। अनुशासन आयोगले यस विषयमा छानबिन गर्नेछ,’ उनले भने।

बुर्लाकोटीले यस प्रकरणमा पार्टीको आन्तरिक अनुसन्धानसँगै राज्यका सम्बन्धित निकायले पनि आवश्यकताअनुसार अनुसन्धान अघि बढाउनुपर्ने बताए। कानुन आकर्षित हुने अवस्था भए त्यसअनुसार प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ।

‘राज्यको कानुन कहाँ आकर्षित हुन्छ भन्ने विषयलाई ध्यानमा राख्दै आवश्यक अनुसन्धान गर्नुपर्छ। त्यसमा पार्टीका तर्फबाट सहयोग रहनेछ भन्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ,’ उनले भने।

अनुशासन आयोगले अनुसन्धान कहिलेसम्म टुंग्याउँछ भन्ने प्रश्नमा बुर्लाकोटीले छानबिनको प्रकृति र गहिराइअनुसार समय लाग्ने बताए। विषय सामान्य देखिए छिट्टै निष्कर्षमा पुग्न सकिने भए पनि विस्तृत अनुसन्धान आवश्यक परे सम्बन्धित व्यक्ति र स्थानसम्म पुग्नुपर्ने उनको भनाइ छ।

‘अनुसन्धान गर्दै जाँदा विषय कति गहिरो छ वा सतही मात्रै हो भन्ने थाहा हुन्छ। विषय सामान्य रहेछ भने छिट्टै टुंगिन सक्छ। तर, विस्तृत अनुसन्धान गर्नुपर्ने अवस्था भए सम्बन्धित ठाउँ र व्यक्तिसम्म पुग्नुपर्ने हुन सक्छ। त्यसैले यस्ता विषयमा निश्चित समयसीमा तोक्न सकिँदैन,’ उनले स्पष्ट पारे।

उनले सार्वजनिक भएका आरोपको सत्यता अनुसन्धानबाटै पुष्टि हुनुपर्नेमा जोड दिए। आरोप सही वा गलत के हो, कुनै समस्या छ वा छैन तथा सार्वजनिक भएका अडियो र भिडियो सामग्री वास्तविक हुन् वा नक्कली भन्ने विषय छानबिनपछि मात्रै स्पष्ट हुने उनले बताए।

पार्टीले गरेको आन्तरिक अनुसन्धानको प्रतिवेदन सरकारलाई बुझाइन्छ कि बुझाइँदैन भन्ने प्रश्नमा बुर्लाकोटीले पार्टीको अनुसन्धान पार्टीकै आन्तरिक विषय भएको बताए। सरकारी निकायलाई आवश्यक लागेमा उसले आफ्नै प्रक्रियाअनुसार अनुसन्धान गर्न सक्ने उनको भनाइ छ।

उनका अनुसार सरकारी निकायबाट अनुसन्धान अघि बढाउन सम्बन्धित निकायमा उजुरी पर्नुपर्ने अवस्था हुन सक्छ। तर, पार्टीभित्र भने कुनै विषय सार्वजनिक भएर पार्टीको ध्यानाकर्षण भएको अवस्थामा छुट्टै उजुरी नपरे पनि आवश्यक छानबिन अघि बढाउन सकिने उनले बताए।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com