काठमाडौं । हर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर इरान र अमेरिकाबीच तनाव बढेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) नौसेनाका कमान्डरले अमेरिकी नौसैनिक जहाजलाई उक्त जलमार्गमा पर्खिरहेको र आक्रमण गरी डुबाउन तयार रहेको चेतावनी दिएका छन्।
आईआरजीसीले हर्मुज जलडमरूमध्यमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरेको छ। त्यसको जवाफमा अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम) ले इरानको दाबी खारेज गर्दै उक्त क्षेत्रमा अमेरिकी सेना र उसका क्षेत्रीय सहयोगीहरूको नियन्त्रण रहेको जनाएको छ।
सेन्टकमका अनुसार अमेरिकी सेनाले खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूको १ करोड ९० लाख ब्यारेल कच्चा तेल हर्मुज जलडमरूमध्यबाट सुरक्षित रूपमा पार गराएको छ। अमेरिकी पक्षले इरानको नौसैनिक क्षमतामाथि पनि प्रश्न उठाएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका सैन्य तथा रणनीतिक संरचनामा आक्रमण गरेपछि दुई पक्षबीचको द्वन्द्व चर्किँदै गएको समाचारमा उल्लेख छ। यस द्वन्द्वमा हर्मुज जलडमरूमध्यको नियन्त्रण प्रमुख रणनीतिक विषय बनेको छ।
विश्वको महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हर्मुज जलडमरूमध्यमा उत्पन्न तनावले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र समुद्री व्यापारमा असर पार्न सक्ने चिन्ता बढाएको छ।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार












प्रतिक्रिया