काठमाडौं । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार, योजनाको पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। उक्त रकमबाट विद्यालयमा आधुनिक १२ कोठे तीनतले भवन निर्माण गरिनेछ।

प्रति विद्यालय करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएका भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ। यसबाट विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित सिकाइ वातावरण तयार हुने अपेक्षा गरिएको छ।

मन्त्री पोखरेलले धेरै विद्यार्थी भएका सामुदायिक विद्यालयको पूर्वाधार सुधारसँगै विद्यार्थी अभाव झेलिरहेका विद्यालयको अवस्थाप्रति पनि सरकार सचेत रहेको बताएका छन्। आगामी दिनमा सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधार गर्दै विद्यालयबीचको असमानता घटाउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ।

उनले सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थी सबैको सहकार्य आवश्यक रहेको पनि बताएका छन्।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com