काठमाडौं । जर्मनीको कोलोन सहरमा १६ वर्षीया किशोरीलाई रोबोटमार्फत अनुचित रूपमा छोएको आरोपमा प्रहरीले दुई युवामाथि अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार शनिबार र आइतबारको मध्यरातमा फास्टफुड रेस्टुरेन्टबाहिर साथीहरूसँग रहेकी किशोरीको नजिक पुगेको रोबोटले पछाडिबाट अनुचित रूपमा छोएको आरोप छ। घटनामा रोबोटका १६ वर्षीय मालिक र उनका १९ वर्षीय साथीको संलग्नता रहेको आशंका गरिएको छ।
प्रहरीले रोबोटको गतिविधि प्रत्यक्ष रूपमा नियन्त्रण गरिएको थियो वा पहिले नै प्रोग्राम गरिएको थियो भन्नेबारे अनुसन्धान गरिरहेको छ। ती युवाले घटनाको भिडियो खिचेर अनलाइन प्रसारण गरेको र त्यसमा टिप्पणी गरेको बताइएको छ। यद्यपि, उनीहरूमाथि औपचारिक आरोप लगाइएको छैन।
अनुसन्धानका क्रममा प्रहरीले नजिकै पार्क गरिएको गाडीको डिकीमा रोबोट फेला पारेको थियो। प्रहरीले रोबोटसँगै दुवै युवाका मोबाइल फोन पनि जफत गरेको छ।
कोलोन प्रहरीका प्रवक्ता क्रिस्टोफ बर्मेलले यस्तो घटना प्रहरीका लागि नयाँ भएको बताएका छन्। प्रहरीले घटनाको वास्तविकता र रोबोट सञ्चालनमा युवाहरूको भूमिकाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
सामाजिक सञ्जालमा घटनाको मजाक बनाउने वा अनुपयुक्त टिप्पणी गर्ने कार्यले पीडितलाई थप असर पार्न सक्ने भन्दै प्रहरीले सचेत गराएको छ।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार












प्रतिक्रिया