काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौती सामना गर्न क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा नेपालको धारणा राख्दै उनले अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहल आवश्यक रहेको बताएका हुन्।
‘अपराधविरुद्धको हाम्रो सहकार्य सीमाभन्दा बलियो र अपराधीको गतिभन्दा छिटो हुनुपर्छ,’ गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
प्राकृतिक विपत्तिले पनि सीमा नचिन्ने उल्लेख गर्दै उनले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्ने प्रस्ताव नेपालले अघि सारेको जानकारी दिएका छन्।
बैठकका क्रममा भारतीय गृहमन्त्री अमित शाहसँग साझा सुरक्षा चासोका विषयमा छलफल भएको पनि गुरुङले बताएका छन्। द्विपक्षीय सुरक्षाका विविध विषयमा समन्वय र सहकार्य प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त भएको उनको भनाइ छ।
भेटमा नेपाली उद्योगी तथा व्यापारीले भारतीय बजारमा पहुँचका क्रममा भोग्नुपरेका चुनौती र भारतमा रहेका नेपालीले सामना गरिरहेका समस्याबारे पनि छलफल भएको उनले उल्लेख गरेका छन्। ती विषयमा आवश्यक समन्वय गर्ने प्रतिबद्धता भारतीय पक्षबाट आएको गुरुङले जनाएका छन्।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार












प्रतिक्रिया