लहान । सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–५ का ४७ वर्षीय मोहम्मद साबिर अली रहेका छन्।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरुङ्गा नगर सभापति रहेको खुलेको छ। अलीलाई बुधबार बिहान सप्तरीको सुरुङ्गा नगरपालिकास्थित कदमाहा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार इलाका प्रहरी कार्यालय लहानले सप्तरीको भेडिया इलाका प्रहरी कार्यालयको सहयोगमा उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार २०८१ मंसिर २९ गते सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइलमा पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनापछि कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरबाट राजमार्ग पार गरी दक्षिणतर्फ जान लागेको बा.८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि कार छाडेर चालक तथा त्यसमा सवार व्यक्ति फरार भएका थिए।
प्रहरीले दुर्घटनाग्रस्त कारको खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको एक क्विन्टल ३० किलो गाँजा फेला पारेको थियो। सोही घटनासम्बन्धी लागुऔषध मुद्दामा अली फरार रहेको र उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार












प्रतिक्रिया