काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत प्राप्त हुँदैमा सरकारले गरेका सबै निर्णय सही नहुने बताएका छन्। उनले लोकतान्त्रिक व्यवस्थामा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित रहने उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सिंहले राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले प्रश्न उठाउनु र आवश्यक परे अस्वीकृत गर्नु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको बताएका हुन्।
उनले राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा सरकारको निर्णयमाथि संसदीय समितिले निगरानी राख्नु लोकतान्त्रिक व्यवस्थाको आवश्यक पक्ष भएको उल्लेख गरेका छन्।
‘दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन। लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,’ उनले लेखेका छन्, ‘राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास हो।’
सिंहले लोकतन्त्रमा बहुमतका आधारमा शासन सञ्चालन हुने भए पनि बहुमत प्राप्त सरकारलाई समेत जवाफदेही बनाउने संस्थागत व्यवस्था आवश्यक रहेको बताएका छन्।
संसदीय समितिको भूमिकालाई लोकतन्त्रको सुन्दरता र संसदीय गरिमासँग जोड्दै उनले सरकारका निर्णयमाथि निगरानी राख्ने अभ्यासले लोकतान्त्रिक प्रणालीलाई थप जिम्मेवार बनाउने धारणा राखेका छन्।
‘लोकतन्त्रमा बहुमतको शासन हुन्छ, तर बहुमतलाई पनि जवाफदेही बनाउने व्यवस्था हुन्छ। यही हो लोकतन्त्रको सुन्दरता, यही हो संसदीय समितिको गरिमा!’ उनले भनेका छन्।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया