काठमाडौं । अमेरिकाको इलिनोय राज्यमा धार्मिक स्थलमा सामूहिक गोलीबारी गर्ने धम्की दिएको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन्। प्रहरीले उनको घरबाट राइफल, गोली भरिएका म्यागजिन र सयौँ राउन्ड गोली बरामद गरेको छ।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार, प्रहरीले प्राप्त गरेको शङ्कास्पद सन्देशका आधारमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा इलिनोयको ओरोरा सहरमा रहेको हिन्दु मन्दिर सम्भावित निशाना हुन सक्ने आशङ्का गरिएको छ।
माउन्ट प्रोस्पेक्ट प्रहरीले शङ्कास्पद सन्देशको अनुसन्धान गरी युवकलाई घरबाहिरबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि उनको घरमा तलासी गर्दा हतियार तथा गोलीगठ्ठा बरामद भएको समाचारमा उल्लेख छ।
घटनापछि सिकागोस्थित भारतीय महावाणिज्य दूतावासले अमेरिकी सुरक्षा निकायको समयमै गरिएको कारबाहीको प्रशंसा गरेको छ। दूतावासले भारतीय समुदायसँग सम्पर्कमा रहेको र घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ।
प्रहरीको कारबाहीका कारण सम्भावित ठूलो घटना टरेको बताइएको छ। यद्यपि, हिन्दु मन्दिरलाई नै निशाना बनाउने योजना थियो वा थिएन भन्ने विषयमा अनुसन्धानको अन्तिम निष्कर्ष सार्वजनिक भइसकेको छैन।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार















प्रतिक्रिया