काठमाडौं । चाडपर्वमा घर फर्किने यात्रुलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङ र चितवनका राजमार्ग क्षेत्रका २६ होटल तथा रेस्टुरेन्टको अनुगमन गरेको छ। अनुगमनका क्रममा एउटा पनि होटल ‘अति उत्तम’ वा ‘उत्तम’ श्रेणीमा पर्न सकेन।

विभागको निरीक्षण टोलीले बुधबार गरेको अनुगमनमा १४ होटल ‘सन्तोषजनक’ र १२ होटल ‘सामान्य’ श्रेणीमा वर्गीकृत भएका छन्।

सन्तोषजनक श्रेणीमा परेका १४ होटललाई एक तारासहितको हरियो स्टिकर दिइएको छ भने सामान्य श्रेणीमा रहेका १२ होटलमा पहेँलो स्टिकर टाँसिएको छ।

विभागले खाद्य स्वच्छताका आधारमा होटललाई चार श्रेणीमा वर्गीकरण गर्दै आएको छ। ‘अति उत्तम’ श्रेणीलाई तीन तारासहितको हरियो, ‘उत्तम’लाई दुई तारासहितको हरियो, ‘सन्तोषजनक’लाई एक तारासहितको हरियो र ‘सामान्य’ श्रेणीलाई पहेँलो स्टिकर प्रदान गरिन्छ।

राजमार्गका होटलमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका खाना बिक्री गर्ने र मनपरी मूल्य असुल्ने गरेको गुनासो बढेपछि विभागले अनुगमन तीव्र पारेको हो।

यातायात व्यवस्था विभागको सूचनाको कार्यान्वयनका क्रममा धादिङको बेनीघाट रोराङ तथा गजुरी र चितवनको इच्छाकामना गाउँपालिका क्षेत्रका होटल तथा रेस्टुरेन्टको अनुगमन गरिएको विभागले जनाएको छ।

विभागले राजमार्गका सबै होटल तथा रेस्टुरेन्टलाई खाद्य स्वच्छतासम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न र यात्रुको स्वास्थ्यमा खेलबाड नगर्न सचेत गराएको छ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This