काठमाडौं । नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण बिहीबार सम्पन्न भएको हो। प्रशिक्षणमा नेपालका १४ खेलाडी सहभागी थिए।
प्रशिक्षणको समापनका अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा ह्विलचेयर रग्बी संघले बीआईएलाई ३९–३६ ले पराजित गर्यो। खेलमा सहभागी दुवै टोलीका खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रशिक्षण सञ्चालनका लागि अमेरिकी ह्विलचेयर रग्बी प्रशिक्षक माइकल स्टिभ केयरलीको नेतृत्वमा पाँच सदस्यीय टोली नेपाल आएको थियो। टोलीमा मेरुदण्डको चोटपछिको पुनःस्थापनासम्बन्धी विशेषज्ञ डा. जेफ्री क्रेग बर्लिनर र अमेरिकी ह्विलचेयर रग्बी खेलाडी लोगन डिन फुलर पनि सहभागी थिए।
तीनदिने प्रशिक्षणमा ह्विलचेयर सञ्चालन, खेलकौशल, रणनीति, शारीरिक क्षमता विकास, चोटपटकको जोखिम न्यूनीकरण तथा स्वास्थ्य र पुनःस्थापनासम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रमले नेपाली खेलाडीलाई ह्विलचेयर रग्बीका प्राविधिक पक्ष र खेल सञ्चालनका आधारभूत सीप सिक्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
समापन समारोहमा नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर प्रमुख अतिथि थिए। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य मोनालिसा खम्बु, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, कोषाध्यक्ष दीपक अधिकारी, केशवप्रसाद सिटौला, राखेपका प्रतियोगिता प्रमुख मीनप्रसाद शर्मा तथा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री विपना थापालगायतको उपस्थिति थियो।
समारोहलाई सम्बोधन गर्दै अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख हार्करले ह्विलचेयर रग्बीजस्ता खेलले आपसी सद्भाव र सहकार्य बढाउनुका साथै खेलाडीको मनोबल उच्च बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
राखेपकी बोर्ड सदस्य खम्बुले आफ्नो दुई दशक लामो खेलकुद अनुभवमा ह्विलचेयर रग्बीजस्तो फरक प्रकृतिको खेलको अनुभव गर्न पाउँदा खुसी लागेको बताइन्। उनले खेलाडीमा देखिएको उत्साह र जोसले आफूलाई प्रभावित बनाएको उल्लेख गरिन्।
त्यस्तै, अभिनेत्री थापाले यसअघि पनि अपाङ्गता भएका व्यक्तिसँग विभिन्न खेलसम्बन्धी गतिविधिमा सहभागी हुने अवसर पाए पनि ह्विलचेयर रग्बीको अनुभव फरक र विशेष लागेको बताइन्।
प्रशिक्षणका क्रममा नेपालका कृष्ण थापा, श्रीराम श्रेष्ठ, विनोद तामाङ, विवेश बासु र निरज कार्कीले प्रशिक्षणमा सहयोग गरेका थिए। मैत्रीपूर्ण खेलमा प्रेम कोइराला र टंकराजले निर्णायकको भूमिका निर्वाह गरेका थिए। प्रशिक्षक तथा निर्णायकको व्यवस्थापनमा नेपाल रग्बी संघले सहयोग गरेको थियो।
कार्यक्रममा गायन तथा नृत्यलगायत मनोरञ्जनात्मक प्रस्तुति पनि समावेश गरिएको थियो। प्रशिक्षण कार्यक्रमलाई राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद परिषद्लगायतका संस्थाले सहयोग गरेका थिए।
नेपालमा ह्विलचेयर रग्बीको जग बलियो बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले खेलाडीको सीप र क्षमता विकास गर्नुका साथै नेपाली खेलाडीलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने आधार तयार गर्न सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार













प्रतिक्रिया