काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाका पूर्वसैनिक निदाल हसनलाई दिइने मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजना रद्द गरेका छन्। रक्षामन्त्री पीट हेगसेथको प्रस्तावित योजनाको स्वदेश तथा विदेशमा व्यापक आलोचना भएपछि ट्रम्पले यस्तो निर्णय गरेका हुन्।

हसनलाई सैनिक फायरिङ स्क्वाडबाट मृत्युदण्ड दिने तयारी छ। उनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजनाको अमेरिकी राजनीतिज्ञ, क्याथोलिक चर्च, मानवअधिकार समूह र संयुक्त राष्ट्रसङ्घले विरोध गरेका थिए।

ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा हसनलाई निर्धारित समयमा मृत्युदण्ड दिइने भए पनि त्यसको प्रत्यक्ष प्रसारण नहुने बताएका छन्।

उनले प्रत्यक्ष प्रसारणमार्फत अमेरिकाले आतङ्कवादीसँग कसरी व्यवहार गर्छ भन्ने संसारलाई देखाउन सकिने तर्क गरेका छन्। तर धेरै मानिस हसनको मृत्यु प्रत्यक्ष हेर्न नचाहने भएकाले प्रसारण नगरिने उनले बताएका छन्। पीडितका नजिकका परिवारका सदस्यले भने चाहेमा प्रत्यक्ष रूपमा मृत्युदण्ड हेर्न सक्ने उनको भनाइ छ।

सन् २००९ मा टेक्सासको फोर्ट हुड सैन्य आधारमा १३ जनाको गोली हानी हत्या गरेको अभियोगमा हसनलाई मृत्युदण्ड सुनाइएको थियो। उनको मृत्युदण्ड डिसेम्बर ३ का लागि निर्धारित छ।

यो मृत्युदण्ड सन् १९४५ पछि अमेरिकी सेनाको फायरिङ स्क्वाडबाट दिइने पहिलो हुने बताइएको छ। रक्षामन्त्री हेगसेथले यसअघि मृत्युदण्ड सार्वजनिक रूपमा प्रत्यक्ष प्रसारण गर्ने योजना रहेको बताएका थिए।

प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com