आज छिमेकीको खसी अचम्मित छ। आज बिहानै देखि उसको घरमा छुट्टै चहलपहल छ। आज उसको खोरमा घरबेटि बिहानै देखि आउने जाने गरिरहेछ।

आज बिहानै उसलाई मकै पिठो दाना र घास खुवाईरहेछ।
उसको सानो छोरा पनि हसिलो मुहारमा बाबा संग खोरमा आउने जाने गरिरहेको छ। किनकि आज उसको घरको खसि कसैले दशैको लागि किन्नको लागि आउदैछन।

बाबाले छोरालाई धेरै अघिदेखि बचन दिएका छन कि खसि बेचेको पैसाले दशैमा नयाँ कपडा हाल्ने कुराले उसको मन पुलकित छ।
खसि आफै आस्चर्यमा छ किनकि आज उसलाई छुट्टै माया र स्नेह मिलेको जो छ।

शहरबाट गएको एउटा गाडि उसको घरको अगाडि रोकिन्छ।
२-३ जना मानिसहरु घरमुली संग भेटघाट गर्छन। उनिहरु खसि किन्न गएका हुन्छन। घरधनिले खसिलाई किलोबाट फुकाएर आँगनमा लग्यो।

खसि किन्न आएकाहरुले खसिलाई सुम्सुमाए, उचाले, कसैले पेट थिचे त कसैले उसको गुप्ताङ्गमा हात लगाए। खसि अचम्मित छ ! उ सोचिरहेछ हैन आखिर के भैरहेको छ। पिडिमा बसेर छोराले मुस्कुराउदै हेरिरहेछ।

उ खुसी यो कारणले छ कि भोली त बजार जाने हो नयाँ लुगा, चङ्गा किन्ने यस्तै सपना देखिरहेछ। खसि किन्ने ग्राहकलाइ खसि मन पर्यो।

उनिहरुले खसिको मोलमोलाई गरे। खसि बिक्री भयो। खसि धनि खुसि हुदै पैसा समायो, खसि बाधिएको डोरी ग्राहकको हातमा दिदै भन्यो । मैले धेरै माया गरेर दुख गरेर पालेको खसि हो तपाइलाई निरास बनाउदैन यो खसिले, मैले राम्रो संग पालेको खसि हो यो!

ग्राहकले भनेको पैसा दिएर खसिलाई डोराउदै कार तर्फ लगे, त्यो महंगो गाडिको डिकिमा हाले। उ घरबेटिको अनुहारमा हेर्दैछ।
घरबेटिका आखाँ गहभरि आशुले भरिएका छन। एकातर्फ आफुले आफ्नो सन्तान झै माया गरेको खसि बेच्नु पर्दा मन खुसि नि छैन अर्को तर्फ छोराको हसिलो मुहार हेर्छ उसको खुसी देख्छ यस्तै मिश्रित भावमा उसले ग्राहकलाई बिदा गर्छ।

खसि आज खुसी छ किनकि उ आज पहिलोपटक गाडी चढेको छ त्यो पनि एसि वाला। गाडि चढेको केहि घण्टामा उसको गाडि रोकिन्छ। डिकि खुल्छ र खसिको घाटिमा बाधेको दाम्लो समाउदै नयाँ मालिकले गाडिबाट झार्छ।

उ अचम्मित छ। गाउँघरमा जन्मिएको हुर्किएको उ आज बिरानो शहरमा अग्ल्ला अग्ला घरहरुको दुनियाँमा पुगेको छ। घरमा गेट छ। अग्लो घर छ। घरमा सबै चिज छ तर वरिपरी गाउँघरको जस्तो घासपात छैन। आफु बस्ने खोर छैन।

नयाँ धनिको छोराछोरी खसि नजिकै दौडिएर आए खसिलाई देखेर खुसी भए। एउटाले कान समातेर तान्यो एउटाले सिंग हेरेर भन्यो कति ठुलो सिंग कति राम्रो खसि!!

खसि अवाक छ गाउँमा घरधनिको याद आउछ, जन्मदिने आमा र दाजुभाई को याद आउछ अनि उ कराउन थाल्छ। तर उसको आवाज बुझ्ने कोहि भए पो।

गाउँमा उ कराउँदा घरमुलीले घास हालिदिन्थ्यो। पानि पिठो दिन्थ्यो।
उसले त्यहि सोच्यो सायद तर न त शहरमा घास थियो न त पिठो नै थियो।

उ आत्तिदै थियो। अनि बारम्वार कराईरहेको थियो। तर उसको आवाज सुन्ने कस्लेबुझ्ने कस्ले!

उसलाई नजिकै एउटा किलो ठोकेर बाधियो।
घरमा केहि अपरिचित मानिसहरु आउन थाले!
उनिहरु किलो किलो मा हिसाब गर्दै थिए। कोहि आउदै उसलाई उचाल्दै थिए। कोहि उसको पेट थिच्दै थिए।
उसको तौल ४० किलो जति थियो उसको तौल लाई उनिहरु भाग गर्दै थिए।

खसि अचम्मित छ उ सोच्छ मलाई किन मानिसहरुले यसरि सुम्सुमाइरहेका छन किन मेरो भाग लगाईरहेका छन।
रात पर्यो आए देखि उ भोकै छ उसलाई गाउँको मालिकले जस्तो कराउदैमा भोकायो बुझ्ने त्यहाँ कोहि छैनन।

उ अन्योलमा छ कि यहाँ के भैरहेको छ। उसलाई कुनै पत्तो छैन।
रात पर्यो उसलाइ घरको भित्र एउटा कुनामा लगेर बाधियो, दिसा पिसाब गर्छ भनेर एउटा जुटको बोरा बिच्छ्याइयो। खसि गाउँ सम्झिन्छ, आमा सम्झिन्छ, खोर सम्झिन्छ त्यो हरियो घास सम्झिन्छ अनि सम्झिएर कराउछ बारम्बार बारम्बार।

नयाँ मालिक भित्रबाट आवाज दिन्छ कति कराउने खसि रैछ यो के छ एसो लगेर खान देउ भन्छ श्रीमतीलाई। श्रीमतीले मार्टबाट मकैको पिठो किनेर लगेको हुन्छिन त्यहि एउटा थालमा हालिदिन्छिन र अगाडि लगेर राखिदिन्छिन।

आज गाउंको घरबेटि जस्तो माया छैन, बोलि छैन ब्यबहार छैन।
आज खसिको मन बेचैन छ। एक्लो छ अध्यारो छ।
अन्धकार छ।

रात अन्योलमा बित्यो। बिहानको झुल्के घाम संगै घरमा चहलपहल सुरु भयो। खसिलाई भित्रबाट बाहिर लगेर बाधियो। कोहि तातोपानि तताउन थाले त कोहि हतियारमा धार लगाउन थाले। खसि एकटकले ति तस्विर नियालिरहेछ। उसलाई अत्यास लागिरहेको छ। नलागोस पनि किन उ अब धेरै बेर बाच्ने छैन। तर उसलाई त्यो बारे थाहा पनि त छैन।

पानि तात्यो, खुकुरीमा धार लगाईयो, भाडा तयार भए। ठुलो कराई अगाडि ल्याईयो जुन उसको रगत थाप्नका लागि थियो।
उसलाई एउटा भाडोमा खाली पानि दीईयो।

नयाँ घरबेटि संगै छिमेकी जम्मा भए। अब उसलाई मार हान्ने सल्लाह हुन थाल्यो। कस्ले कति खाने सल्लाह हुन थाल्यो।

खासीको मनमा चिसो पस्यो। आखिर के हुदैछ अब यहाँ उसले सोच्न सकिरहेको छैन। उसलाई थाहा छैन कि अब उसको बाच्ने समय धेरै छैन। उसलाई किलोबाट फुकाइयो। एउटा छेउमा लगियो। उसलाई माया गर्ने, के छ सोध्ने अब त्यहाँ कोहि छैनन। अब छन त उसलाई टुक्राटुक्रा पारेर उसको मासु खाने मात्र छन।

जब उसलाई मार हान्ने ठाउँमा लगियो, पानि बाट बाफ आइरहेको छ। एउटाको हातमा ठुलो खुकुरी छ। एउटाले हातमा एउटा भाडोमा पानि ल्यायो र उसको जिउमा छर्कियो। उ पर्सिदैछ। खसिले अब बुझ्यो कि अब मलाई नयाँ घरमालिकले मार्नेछ, मेरो गर्धन छिनाल्नेछ। अब म यिनिहरुको भोकको भोजन बन्नेछु। उसका आखाँ रसाएकाछन। मुटु चिसो भएको छ। उ बारम्बार कराईरहेको छ। सबै मानिसहरुको मुखमा हेर्दैछ। दायाँबायाँ गर्दैछ। भाग्न खोज्दैछ। तर उसलाई उनिहरुले राम्रो संग बाधेका छन, समाएका छन।

खसि त्यो गाउँ, त्यो खोर, जन्मदिने ति आमा सम्झिदै छ।
घरबेटिको त्यो माया, लालनपालन सबै यहि दिनका लागि रहेछ भन्ने बुझिसकेको छ। मलाई मिठोमिठो खुवाएको त बेचेर बढि पैसा लिनलाई पो रहेछ। म बिरामी हुदाँ मेरो उपचार गरेको त मेरो मायाले हैन रहेछ। म मरे भने पैसा आउदैन भनेर पो रहेछ। उसले सबै बुझ्यो सबै सम्झियो। अब केहि बेरमा उ मर्नेछ। उसको प्राण हर्न मानिसहरु तम्तयार भैसकेका छन।

मानिसहरु कुरा गर्दैछन। अब ढालौ हैत!
दूइ जनाले खुट्टा समाए। एक जनाले घाँटीमा बाधिएको दाम्लो समायो। उसलाई हलचल गर्न नसक्ने गरि अठ्याए। एउटाले रगत थाप्ने भाडो समायो।

खसिले लामो स्वास लियो। परमात्मालाई सम्झियो। आखाँ बन्द गर्यो र अन्तिम स्वास लीयो।

त्यहि सेकेन्डमा उसको घाटिमा खुकुरी बजारियो।
खसिले ऐया पनि भन्न पाएन। उसको प्राण उड्यो। उसको टाउको एकातिर गएर बजारियो। घाटिबाट रगतको धारा बग्न थाल्यो। उ छट्पटायो, छटपटायो अनि छट्पटायो ।

यसै गरि छिमेकिको खसिले एउटा जुनी फेर्यो।


–राजानन्द माण्डव्य
अहिंसा परमो धर्म : !!

प्रकाशित मिति: १ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com