काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले समाजमा व्याप्त भ्रष्टाचार, कुशासन, ढिलासुस्ती र असमानताजस्ता विकृति अन्त्य गर्न सबै नागरिक एकजुट हुनुपर्ने बताएका छन्। विजयादशमीको शुभकामना सन्देश जारी गर्दै उनले वास्तविक परिवर्तनका लागि सोचसँगै व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको बताएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
उनले पौराणिक मान्यताअनुसार विजयादशमीलाई दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा मनाइने उल्लेख गरेका छन्। यस दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले पारिवारिक सम्बन्ध र आत्मीयतालाई थप बलियो बनाउने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने बताएका छन्।
उनले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृतिलाई वर्तमान समाजका आसुरी प्रवृत्तिका रूपमा व्याख्या गर्दै तिनको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। प्रत्येक नागरिकले सरकार आफ्ना लागि पनि छ भन्ने अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न सबैको सहकार्य जरुरी रहेको उनले उल्लेख गरेका छन्।
‘इमानदार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ,’ प्रधानमन्त्री शाहले सन्देशमा भनेका छन्।
उनका अनुसार विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेका नागरिकलाई एकताको सूत्रमा बाँध्नुका साथै लामो समयदेखि टाढिएका आफन्त र साथीभाइसँग पुनर्मिलन तथा आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्छ।
प्रधानमन्त्री शाहले सबैलाई आ–आफ्नो क्षमता र परिस्थितिअनुसार विजयादशमी मनाउन तथा आपसी सद्भाव, एकता, सम्मान र प्रेम अभिवृद्धि गर्न आह्वान गरेका छन्।
प्रकाशित मिति: ५ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया