काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणको रिट निवेदन शुक्रबार पहिलो नम्बरमा पेसी चढेको छ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासको ‘क’ मा उक्त रिटको पेसी तोकिएको हो। भट्टका तर्फबाट उनका बुबा चतुर्भुज भट्टले गत असोज ७ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
निवेदन दर्ता भएको भोलिपल्ट न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। आदेशमा बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्नुपर्ने वा नपर्ने आधार र कारण स्पष्ट पार्दै आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको थियो।
धितोपत्र कारोबारसम्बन्धी प्रकरणमा भट्ट गत चैत १९ गते पक्राउ परेका थिए। उनी प्रहरी हिरासतमा रहेकै बेला उनकी श्रीमती आयुष्मा नेपालले वैशाख १८ गते थुनामुक्तिको माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
उक्त रिट सोही दिन सुनुवाइका लागि पेसीमा चढे पनि ‘हेर्न नमिल्ने’ भएपछि कुनै आदेश हुन सकेन। तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासमा उक्त निवेदनको पेसी तोकिएको थियो।
त्यसपछि वैशाख २१ गते पुनः पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै सुनुवाइ अघि बढ्न सकेन। त्यसलगत्तै भट्टका बुबा चतुर्भुजले उनको तर्फबाट अर्को बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया