काठमाडौं । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियासम्बन्धी विवादमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियन्त्रणमा राखिएको छ।
प्रहरीले बिहीबार रजौरियालाई सिरहाको लहानबाट र आयोजना प्रमुखसमेत रहेका सहसचिव रिजाललाई सिन्धुलीबाट पक्राउ गरी काठमाडौँ पठाएको थियो।
स्रोतका अनुसार दुवैलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियन्त्रणमा राखिएको छ।
ठेक्का प्रक्रिया फेरि विवादमा
राष्ट्रिय गौरवको आयोजनाको ठेक्का यसअघि एकपटक रद्द भएपछि पुनः प्रक्रिया अघि बढाइएको थियो। नयाँ प्रक्रियाअन्तर्गत तीन चिनियाँ कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका छन्।
योग्य ठहरिएका कम्पनीमा चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, एन्नेङ–आरसीसी जेभी र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड रहेका छन्।
ती कम्पनीको आर्थिक प्रस्ताव कात्तिक १६ गते खोल्ने मिति तय गरिएको थियो। तर, प्रधानमन्त्रीको सचिवालयले उक्त ठेक्का प्रक्रिया पुनः रद्द गरी नयाँ प्रक्रिया सुरु गर्न दबाब दिएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।
ठेक्का प्रक्रियामा देखिएको विवाद र दुई उच्च अधिकारीलाई नियन्त्रणमा राखिएको घटनाबारे सरकारले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया