नयाँ दिल्ली । भारतले आफ्नो स्वदेशी नेभिगेसन प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले नयाँ पुस्ताको उपग्रह ‘एनभीएस–०३’ सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार शुक्रबार राति स्थानीय समयअनुसार ११ बजेर ५१ मिनेटमा आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट जीएसएलभी–एफ१८ रकेटमार्फत उपग्रह प्रक्षेपण गरिएको हो।

प्रक्षेपणपछि इसरोले सामाजिक सञ्जाल एक्समार्फत जीएसएलभी–एफ१८ ले एनभीएस–०३ लाई सफलतापूर्वक निर्धारित कक्षमा स्थापित गरेको जानकारी दिएको छ।

भारतका विज्ञान तथा प्रविधिमन्त्री जितेन्द्र सिंहले प्रक्षेपण सफल भएकोमा इसरोका वैज्ञानिकलाई बधाई दिएका छन्। उनले यस सफलताले अन्तरिक्ष प्रविधिमा भारतको बढ्दो क्षमता र स्वदेशी नेभिगेसन प्रणाली विकास गर्ने प्रतिबद्धता झल्काएको बताएका छन्।

इसरोका अनुसार जीएसएलभी–एफ१८ भारतको भूस्थिर उपग्रह प्रक्षेपण यान (जीएसएलभी) को २०औँ उडान हो। एनभीएस–०३ भारतको क्षेत्रीय नेभिगेसन उपग्रह प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) अन्तर्गतको नयाँ पुस्ताको तेस्रो उपग्रह हो।

यस उपग्रहले भारतीय क्षेत्रीय नेभिगेसन उपग्रह प्रणालीमार्फत उपलब्ध गराइने सेवाको निरन्तरता सुनिश्चित गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। नाभिक भारतको आफ्नै क्षेत्रीय नेभिगेसन प्रणाली हो, जसले भारत र आसपासका क्षेत्रमा स्थान तथा दिशासम्बन्धी सेवा उपलब्ध गराउँछ।

प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com