काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेसका दुई जना नेतालाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको खुलेको छ । मङ्गलवार साँझ प्रधानमन्त्री प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवा वा कृष्णप्रसाद सिटौला मध्ये एकलाई राष्ट्रपतिमा अगाडि सार्न प्रस्ताव गरेका हुन् ।

काँग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरिरहँदा प्रचण्डको यो प्रस्ताव आएको हो । सचिवालयका अनुसार गत पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने संस्थापन पक्षमा सहमति भएको थियो । सोही सहमति अनुसार संसदीय दलको निर्वाचनमा पौडेल देउवाको प्रस्तावक बसेका थिए । पौडेलसँगै काँग्रेसमा नेता सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विक पनि राष्ट्रपतिको उम्मेदवारका लागि लबिङमा छन् ।

advertisement

प्रधानमन्त्री प्रचण्डले काँग्रेस उपसभापति पूर्णबहादुर खड्का मार्फत देउवा वा सिटौला उम्मेदवार बन्नुपर्ने प्रस्ताव गरेको माओवादी केन्द्रका एक पदाधिकारीले बताए । काँग्रेस स्रोतका अनुसार मङ्गलवार साँझ खड्का प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रचण्डको प्रस्ताव लिएर खड्का बुधबार बिहान देउवा निवास धुम्बाराही पुगेका थिए ।

लोकतान्त्रिक समाजवादीका पार्टी (लोसपा)का नेताले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्दै देउवा निवास पुग्दा खड्का पनि त्यही थिए । लोसपाका नेताहरूसँगको भेटवार्ताअघि प्रचण्डको प्रस्तावमाथि देउवा र खड्काबीच छलफल भएको थियो ।

माओवादी स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले काँग्रेसबाट देउवा र सिटौला मध्ये एक जना राष्ट्रपतिको उम्मेदवार हुनुपर्ने प्रस्ताव पठाउनु भएको छ । देउवा वा सिटौला कसलाई अगाडि सार्नुहुन्छ उहाँहरूको कुरा हो ।’ देउवा र सिटौलामध्ये एक जना हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको स्पष्ट लाइन रहेको ती नेताले बताए ।

देउवा राष्ट्रपति बन्दा माओवादीलाई सरकारको नेतृत्व पाँचै वर्ष गर्ने परिस्थिति बन्ने प्रधानमन्त्री प्रचण्डको बुझाइ छ । देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न काँग्रेसभित्र पनि दबाब छ । उपसभापति खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतले पनि देउवालाई राष्ट्रपति बन्न सुझाव दिइरहेको अवस्था छ ।

 

प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com