काठमाडौं । प्रहरीले चन्द्रागिरी नगरपालिकाले स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको साडी बरामद गरेको छ। निर्वाचनको आचार संहिता विपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न भनी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको ११० थान साडी प्रहरीले बरामद गरेको हो ।
शनिबार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरी नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरूलाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय भवनबाट वितरण गर्न तयारी अवस्थामा राखिएको साडी बरामद गरेको हो ।
उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । वडा कार्यालयले महिलाहरूलाई साडी वितरण गर्न लागेको सूचना शनिबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार
प्रतिक्रिया