काठमाडौं । प्रदेश १ लाई कोशी नामाकरण गरिएको विरोधमा केही व्यक्तिहरू माइतीघर मण्डलामा प्रदर्शनमा उत्रेका थिए। त्यही समयमा बिहान करिब ११ बजेतिर एउटा गाडी प्रहरीको ब्यारिगेट नजिक रोकियो । गाडीबाट दाह्री र चश्मासहित एक चिरपरिचित अनुहार आक्रोशित भावमा बाहिर निस्किए । उनी थिए, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह । बालेनसँगै उनका पीए पनि बाहिर आए ।

घटनास्थलमा रहेका एक प्रहरीका अनुसार साहले सरासर आएर जंगिँदै प्रहरी ब्यारिगेटमा लात्ती हाने । उनका पीएसओले चाहीँ सुरक्षा कमाण्ड गरिरहेका प्रहरीसँग त्यो स्थान खाली गराएर यातायात सूचारु गर्न आग्रह गरे । तर, प्रहरीले मानेन । यहाँ आन्दोलन रोक्ने अनुमति नभएको बताएपछि बालेन र पीएसओ दुवै गाडीमा चढे । गाडी त्यहाँबाट ब्याक भयो र अर्को बाटोबाट हुइँकियो ।

त्यसको करिब एक डेढ घन्टापछि महानगरपालिकाअन्तर्गतको नगर प्रहरीको गाडी त्यहाँ आइपुग्यो । नगरप्रहरीहरू गाडीबाट ओर्लेर आन्दोलनमा हस्तक्षेप गर्न थाले । उनीहरुले आन्दोलनकारीका ब्यानर खोसे । प्रहरी हुँदाहुँदै क्षेत्राधिकार बाहिर गएर नगर प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेपछि तनाव उत्पन्न भएको थियो । प्रहरी र नगरप्रहरीबीच नै मुठभेडको खतरा उब्जियो । त्यहाँ कमाण्ड गरिरहेका प्रहरी अधिकृतले माथिल्लो निकायमा सम्पर्क गरे । माथिबाट ‘जो भए पनि पक्राउ गर्ने’ आदेश प्राप्त भयो ।

त्यसपछि केहीबेर प्रहरी र नगर प्रहरीहरूबीच चर्काचर्की भयो । प्रहरीले पक्राउ गरेर लैजान चेतावनी दिएपछि नगरप्रहरी हच्किए र आफ्नो बाटो लागे । उनीहरू घटनास्थलबाट निस्किएर हुरुरु महानगरको गुडिरहेको गाडीमा चढेका थिए ।

यस विषयमा एक सुरक्षा अधिकृतले बालेनको शैलीप्रति आलोचना गरेका छन् ।

‘यहाँ दिनहुँ हुने आन्दोलनले यातायात अवरोध पुगिरहेको सत्य हो । यसलाई दिर्घकालीनरूपमा हटाउने हो भने महानगरले गृहमन्त्रालय र नेपाल प्रहरीसँग नै समन्वय गर्नुपर्ने हुन्छ । तर, उहाँले अस्वाभाविक व्यवहार देखाउनुभयो । प्रहरीले सुरक्षा दिइरहेको स्थानमा नगर प्रहरी पठाएर ‘टसल’ निम्त्याउनु मुर्खतापूर्ण हो,’ ती अधिकृतले भने ।

प्रकाशित मिति: २१ फाल्गुन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com