काठमाडौं । तत्कालीन नेकपा माओवादीबाट फुटेर गएका तथा माओवादीको विचारसँग निकट राजनीतिक दलहरूको बैठक आज बस्दै छ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन्। गत मंगलबार पनि पूर्वमाओवादी घटकहरूको बैठक बसेको थियो।

advertisement

उक्त बैठकमा प्रचण्डले माओवादी धारका नेताको साथ खोजेका थिए। सर्वोच्च अदालतको आदेश आफूमा मात्र केन्द्रित नरहेको भन्दै उनले सबै नेता तथा दल एकजुट हुनु पर्ने बताएका थिए।

द्वन्द्वकालमा ५ हजार मारिएका नागरिकको जिम्मा लिने उत्तेजक भाषण गरेपछि उनीविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ। सोही मुद्दाका कारण माओवादी धारका नेताहरु एकै ठाउमा उभिएका हुन्।

गत मंगलबार माओवादी धारका आठ दलका नेताहरूसँग छलफलका क्रममा उनले अदालतको आदेश शान्ति प्रक्रियासँग जोडिएको बताउँदै आफूहरू एक भएर जानुपर्ने धारणा राखेका थिए।

उनले अदालतको आदेश शान्ति प्रक्रिया र माओवादी आन्दोलनसँग जोडिएको विषय भएको भन्दै सामूहिक चासो लिनुपर्नेमा जोड दिएका थिए। आठ दलका नेताले सर्वोच्चको भाषा व्यक्तिगतभन्दा पनि नीतिगत भएको निष्कर्ष निकालेका थिए।

उक्त बैठकमा सहभागी आठ दलका नेताहरूले संक्रमणकालीन न्यायका विषयमा आफूहरू एकजुट हुने प्रतिबद्धता जनाएका थिए।  २०७६ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका पाँच हजारजनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए।

उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन्।

प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com