विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमणको प्रयास भएको छ । प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आएको संघर्ष समितिका कार्यकर्ताले मुख्यमन्त्री सवार गाडीमा आक्रमण गरे पनि मुख्यमन्त्री कार्की भने सुरक्षित छन् ।

विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार मुख्यमन्त्री कार्की ओखलढुङ्गा पुगेका थिए । आइतबार एक कार्यक्रममा उनले प्रदेशसभाका ९० प्रतिशत सांसदको समर्थनमा कोशी नामकरण भएको भन्दै अब त्यसबारे कुनै छलफलसमेत नहुने बताएका थिए ।

advertisement

सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्ज्याङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताले कडा सुरक्षासहित गाडीमा जाँदै गरेका मुख्यमन्त्री कार्कीलाई रोकेर आक्रमणको प्रयास गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री चढेको गाडीको झण्डा समेत निकालेर फालेका छन् । कार्कीविरुद्ध चर्को नाराबाजी गर्दै गाडीमा आक्रमण गरे पनि प्रहरीले स्कटिङ गर्दै उनलाई त्यहाँबाट अगाडि बढाएको थियो ।

विराटनगरमा आइतबार पहिचानवादीहरुले विशाल प्रदर्शन गरेका थिए । त्यसक्रममा जिल्ला प्रशासन कार्यालय मोरङले उक्त प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरेको क्षेत्रमा समेत प्रवेश गरेर प्रदर्शनकारीले मुख्यमन्त्री कार्कीको पुत्ला जलाएका थिए ।

त्यसक्रममा प्रहरीले चार राउण्ड हवाई फायर गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको थियो । झडपमा परी २ जना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका थिए ।

प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com