काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले द्वन्द्वकालका ‘अयोग्य लडाकु’ हरूलाई पैसा बाँड्ने काम उपयुक्त नभएको बताएका छन् ।

मङ्गलवार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसदसमेत रहेका थापाले देश सामान्य खर्च चलाउन पनि ऋण लिने अवस्थामा पुग्न लागेको बेला सरकारले अपरिपक्व निर्णय गरेको बताएका हुन् ।

advertisement

उनले भने, ‘हाम्रो आफ्नो थैली कस्तो छ भन्ने कुरा थाहा भएन, घर मुलीले आफ्नो थैली कस्तो छ भन्ने थाहा पाएन भने अलिपछि त्यो घर कङ्गाल हुने बाटोमा जान्छ । बाँड्ने कुरा सजिलो र लोकप्रिय कुरा हो । म कुनै विषयवस्तुमा जान्न । तर बाँड्ने बेलामा मेरो थैली कस्तो छ भन्ने कुराको बोध नभएको हो कि भन्ने लागेको छ । यस्तो बेलामा गर्न सकिन्न भनेर राज्यको यत्रो ठुलो संरचना छ यो सबै कुराको विषयमा जुन खालको कुरा छ त्यसको बोध र चिन्ता नभएको हो भन्ने चिन्ताको विषय हो ।’

काँग्रेसले यसलाई सच्याउन पहल गर्छ भन्ने प्रश्नमा उनले नेताहरूको तहमा छलफल भइरहेको हुन सक्ने बताए ।

‘अहिले हामी यस्तो अवस्थामा पुगेका छौँ कि सामान्य खर्च धान्न पनि ऋण लिनुपर्ने हो कि भन्ने तर्फ हामी जादैछौँ । यस्तो अवस्थामा मुठ्ठी कहाँ कस्ने भन्ने कुराको मेसो भएन भने त एक पछि अर्को यस्तो निर्णय आउँछ । यसमा प्रधानमन्त्री सचेत नभए समस्या बढ्दै जान्छ । सचेत नभएको भन्ने कुरामा चिन्ता बढ्यो,’ उनले भने ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुहरूलाई कार्यविधि बनाएर राहत उपलब्ध निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com