काठमाडौं । राजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूबीच बुधबार झापामा भेटवार्ता भएको छ।
केही समयदेखि झापामै रहेका राजा ज्ञानेन्द्रलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र नेता प्रकाशचन्द्र लोहनी दमक पुगेका थिए।
राप्रपाका नेताहरूसँग राजा ज्ञानेन्द्रले दमकमा झन्डै २ घन्टा कुराकानी गरेका हुन्। भेटमा सहभागी राप्रपाका एक नेताका अनुसार राजा ज्ञानेन्द्र शाहले पछिल्लो समय राष्ट्रिय राजनीतिमा विकसित भएका राजनीति घटनाक्रम, बदलिँदो भूराजनीति र देशभित्र देखा परेका अन्य समसामयिक विषयबारे छलफल गरेका थिए।
‘उहाँले पहिला पनि हामीलाई यसो गर, उसो गर भन्नुहुन्थेन। यसपालि पनि त्यस्तो केही भन्नुभएन,’ ती नेताले भने,‘हामीले राजतन्त्र र हिन्दु राष्ट्र एजेन्डा बोक्ने मूल शक्ति हामी नै हौं भन्ने कुरा राख्यौं।’
राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डाले अझै प्रतिवद्ध भएर जोडतोडका साथ उठाउन निष्कर्षसहित आजको भेट सकिएको उनले जानकारी दिए।
प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार













प्रतिक्रिया