काठमाडौं । बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट गरेका छन्। कुटपिटबाट वडाअध्यक्षको दाँत भाँचिएको प्रहरीले जनाएको छ। मेलौली नगरपालिका–१, का वडा अध्यक्ष शरदसिंह नेगीको चार वटा दाँत भाँचेको आरोपमा बुवाछोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा अध्यक्षमाथि कुटपिट गरेर दाँत भाँचेको आरोपमा प्रहरीले मेलौली –१, का ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
प्रहरी निरीक्षक जोशीले भने, “कुटपिट हुँदा वडा अध्यक्षका चार वटा दाँत भाँचिएका छन्। दाँत भाँच्ने जनार्दशन नेगी वडा कार्यालयकै कार्यालय सहयोगी भएको खुलेको छ । बिहीबार राति पसलमा बसेका बेला विवाद हुँदा बुवाछोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते वडा अध्यक्षको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार
प्रतिक्रिया