विराटनगर । इनरुवामा आयोजित एक विशाल सभामा राजा ज्ञानेन्द्र शाहलाई ‘नागरिक अभिनन्दन’ गरिएको छ । अभिनन्दनपछि राजा ज्ञानेन्द्रले लिखित सम्बोधन गरे ।

शाहले तन-मन र धनमा लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भएको बताएका छन् । परिवर्तन देखाउने नाममा अहिलेको कोरा र सतही खेल, आलटाल र टालटुलको प्रणालीले खँदिलो परिणाम दिन नसक्ने उनको टिप्पणी थियो ।

advertisement

शाहले भने, ‘अहिले त्यत्ति परिवार, समूह, दल, गुट, उपगुटमा अल्झिएर प्रणाली चलिरहेको छ । यसले हामी र हाम्रो भन्ने राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्दैन ।’

यही पाराले राष्ट्रियता र एकताको रक्षा गर्न नसकिने पनि उनको भनाइ थियो । शाहले राष्ट्र, राष्ट्रियता, स्वाभिमान अखण्डता र सार्वभौमिक स्वतन्त्रता कायम गर्नुपर्ने बेला आएको बताए । सुशासन र शान्तिको माध्यमबाट चौतर्फी विकासको बोटमा लाग्नुपर्नेमा जोड दिए ।

‘राष्ट्र नै हाम्रो ब्रम्ह हो । आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन् । यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहं धर्म हो,’ उनले भने, ‘त्यसैले व्यक्ति, परिवार, समूह, गुट र उपगुटमा अल्झिएर होइन, अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्छ ।’

शाहले आफूलाई अभिनन्दन गरिएकोप्रति आभार प्रकट गरेका थिए । यसबाट देशको माया, चिन्ता र चासो प्रस्तुत भएको उनले बताए ।

नागरिक अभिनन्दन कार्यक्रम कोशी र मधेसबाट सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा राजतन्त्रको पक्षमा नारा लागेको थियो । कार्यक्रममा सहभागीहरूले गणतन्त्रको विरोधमा समेत नाराबाजी गरेका थिए ।

 

प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com