काठमाडौं । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरूटका लागि चितवनको कमाण्ड सम्हालिरहेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले तीनै क्षेत्रमा एमालेले विजयी हुने दाबी गरेका छन्। उनले अघिल्लो पटक एमालेलाई भोट नहालेका मतदाताले पनि यसपाली हाल्ने दाबी गरे।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बास्कोटाले यहाँ अघिल्लो पटक भएको निर्वाचनलाई भदौरे बाढीको संज्ञा दिए।

advertisement

‘भदौरे बाढीले ल्याएको लेदो जति सफा भएर नारायणी कञ्चन भएको छ। चितवनमा वैशाखे पालुवा पलाउन थालेका छन्, चैते हुरीको कुनै काम छैन,’ उनले भने।

बाँस्कोटाले पहिले घन्टीमा भोट हाल्नेहरूले अब शंख बजाएर सूर्यको आरती गर्ने बताए।

‘उम्मेदवारी दर्ता भयो। हामी जनताको मन, मस्तिष्क र मुटुमा बस्छौं। हार्ट क्यास, ब्रेन वास गर्ने हो,’ बास्कोटाले भने, ‘जनता कसैको मुठी भित्रको बन्धक होइन एकचोटी झुक्किन्छन् धेरै झुक्किदैनन्।’

बास्कोटाले एमालेसँग विकासको भिजन र मिसन रहेकाले कसैले चुनौती दिन नसक्ने दाबी गरे।

उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै उम्मेदवार रामप्रसाद न्यौपानेले सचेत मतदाताहरू भुलभुलैयामा नपर्ने भन्दै आफ्नो विजय सुनिश्चित रहेको बताए। ‘यहाँबाट विजयी उम्मेदवारको काम र व्यवहारबाटै उनीप्रतिको भ्रम हटेको। यहाँका जनताले उपनिर्वाचनमा भाग लिन खोजेका थिएनन्,’ न्यौपानेले भने, ‘जनताको मायाबाट विजयी भएर जिल्लाको विकास र युवाको सपना साकार पार्न एमाले लाग्छ।’

 

प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com