रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौसिनीको मानेखोप भन्ने स्थानमा बोलेरो दुर्घटना हुँदा चार जनाको घटना स्थलमै मृत्यु भएको छ ।
मन्थलीबाट भटौली तर्फ जाँदै गरेको बा ११ च ५०५३ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको घटना स्थलमै ज्यान गएको हो ।
दुर्घटना स्थलबाट स्थानीय एवं नेपाली काँग्रेसका इकाई सभापति बलबहादुर तामाङले भने,‘गाडीमा कति जना सवार थिए भन्ने खुलेको छैन । चार जनाको घटना स्थलमै ज्यान गएको छ । ११ जना भन्दा बढी गम्भीर घाइते अवस्थामा छन् । कोही बेहोस छन् । कसैलाई टाउकोमा, सकैलाई हात, खुट्टामा चोट लागेको, भाँचिएको अवस्थामा छन् ।’
दुर्घटना हाताहाती अवस्थामा रहेको उनले बताए । उनका अनुसार ज्यान गुमाउनेमा जेन्सन तामाङ, दानी तामाङ र बालिका लाक्पा शेर्पा र पहिचान नखुलेकी एक वृद्ध महिला छिन् ।
‘उकालो मोड्मा जाँदा बेक नलागेर पल्टिएको भनिएको छ ।’ तामाङले भने ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले ४ जनाको मृत्यु भएको जानकारीमा आएको पुष्टि गर्दै ११ जना घाइतेलाई एम्बुलेन्स मार्फत उद्धार गरिएको बताए । ‘४ जनाको घटना स्थलमै ज्यान गएको छ । दुई वटा एम्बुलेन्स मार्फत ४–४ जना र प्रहरीको गाडीमा ३ जनाको उद्धार गरी अस्पताल लग्दै गरेको जानकारी दिए।
घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।
प्रकाशित मिति: २३ चैत्र २०७९, बिहिबार
प्रतिक्रिया