काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई स्पष्टीकरण बुझाएका छन्।

प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएलगत्तै सांसद श्रेष्ठलाई रास्वपाको अनुशासन कमिटीले २४ घन्टाभित्र स्पष्टीकरण मागेको थियो।

advertisement

उनले ह्वाट्सएप मार्फत स्पष्टीकरण बुझाएको अनुशासन समितिका प्रमुख भरतमणि देवकोटाले सेतोपाटीलाई जानकारी दिए।

‘मैले स्पष्टीकरण पढेँ। अब त्यसअनुसार भोलि हामी अनुशासन समितिको बैठक बस्छौं। हामीलाई केन्द्रीय समितिले ७२ घन्टाको समय दिएको थियो। ४८ घन्टाभित्र हामीले हाम्रो काम सकाएर प्रतिवेदन बुझाउँछौं,’ उनले भने।

उक्त समितिमा ४ जना सदस्य छन्। मंगलबार बिहान ११ बजे उक्त समितिको बैठक बस्ने र त्यस समितिले एक निष्कर्ष निकालेर केन्द्रीय समितिलाई सिफारिस गर्ने पनि उनले बताए।

देवकोटाका अनुसार सांसद ढाकाप्रसादले आफ्नो स्पष्टीकरणमा अडिओमा आफ्नो आवाज नभएको बताएका छन्।

‘उहाँले उक्त अडिओ इडिटेड (सम्पादित) हो भन्नुभएको छ। तैपनि अनुशासन समितिले जे निर्णय गर्छ, त्यसमा तयार छु भन्नुभएको छ,’ उनले भने, ‘पार्टीले जस्तो निर्णय गर्छ, त्यो स्वीकार्य छ भन्नुभएको छ।’

ढाकाप्रसादले आफ्नो स्पष्टीकरणमा स्वास्थ्य क्षेत्रमा भएका बेथितिका बारेमा पनि उल्लेख गरेका छन्।

‘उहाँले स्वस्थ्य क्षेत्र सुधार गर्नुपर्ने विषयबारे व्याख्या गर्नुभएको छ। राम्रै गरिरहेको भए पनि सुधार गर्न सकिने ठाउँ प्रशस्तै भएको विषय पनि उल्लेख गर्नुभएको छ,’ देवकोटाले भने।

 

प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com