काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनलाई पार्टीले निष्कासन गरेको जानकारीसहितको सूचना पढेर सुनाएसँगै श्रेष्ठ पदमुक्त भएका हुन् ।

advertisement

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिलको अडिओ बाहिरिएपछि रास्वपाले उनलाई सांसदसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

पार्टीले सांसद श्रेष्ठलाई पदमुक्त गराउन संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको सोही निर्णय बमोजिम उहाँको पद रिक्त भएको सभामुख घिमिरेले बताए ।

सभामुख घिमिरेले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको र सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनी निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद सचिवालयमा दिएकोले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु । साथै राजनीतिक दलसम्बन्धि ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको व्यहोरा जानकारी गराउँछु ।’

श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य थिए । उनको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरिसकेको छ ।

 

प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com