काठमाडौं । भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणले बिचौलियाबाट लिएको रकममध्ये एक करोड रूपैयाँ फिर्ता गरिदिएको तथ्य प्रहरीले फेला पारेको छ।

उक्त रकम गृहमन्त्री खाणले आफ्ना निजी सहायक नरेन्द्र केसीमार्फत् फर्काएको गृहको उच्च स्रोतले जनाएको छ।

advertisement

नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहका प्रमुख सदस्य केशव दुलाल, सानु भण्डारी र टंक गुरूङ चैत १२ गते पक्राउ परेपछि उनीहरूले भटाभट यसमा जोडिएका राजनीतिक र प्रशासनिक मानिसहरूको नाम लिन थालेका थिए।

भण्डारी, दुलाल र गुरूङ पक्राउ परेपछि उनीहरूको बयान भएको थियो। बयानका क्रममा सानु भण्डारीले गृहमन्त्री खाण लगायत उच्च राजनीतिक एवं कर्मचारीहरूको नाम लिएका थिए। उनीहरूले नाम लिएका ८ जनालाई प्रहरीले समात्यो। खाणको नाम भने गिरोहका सदस्यको बयानबाट हटाइयो।

त्यसलगत्तै खाणले गिरोहका सदस्यबाट आफूले लिएको रकम फिर्ता गर्ने र भविष्यमा उनीहरूले आफ्नो नाम नलिने चाँजोपाँजो मिलाउन थाले। त्यसको केही दिनमा उनले पिए केसी मार्फत एक करोड रूपैयाँ फिर्ता गरेका थिए।

गृहको उच्च स्रोतका अनुसार केसीले एक करोड लगेर दिएका व्यक्तिले नै प्रहरी समक्ष आफूले उनीबाट पैसा फिर्ता लिएको बयान दिएका छन्।

खाणले भने अहिलेसम्म बयानका क्रममा यो विषय स्वीकार गरेको वा नगरेको यकिन छैन। मंगलबार मात्रै प्रहरीले खाणसँग दिनभरि नै बयान लिएको छ। यो समाचार लेख्दा साँझसम्म पनि बयान जारी छ।

पूर्वगृहमन्त्री खाणलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो। उनलाई मैजुबहालस्थित निवासबाट जरूरी पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको थियो। त्यसपछि पक्राउ परेका गृहसचिव टेकनारायण पाण्डेले पनि उनीमार्फत काम गरेको स्वीकार गरेपछि र पाण्डेकै फोनबाट भेटिएका प्रमाण पाएपछि प्रहरी खाणसमक्ष पुगेको थियो।

खाण भाग्न सक्ने संकेत पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीसहितको टोली नै पुगेर उनलाई घरैबाट पक्राउ गरेको हो।

प्रहरीले यस प्रकरणमा अहिलेसम्म १४ जनालाई पक्राउ गरिसकेको छ।

पक्राउ पर्नेहरूमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, टेकनारायण पाण्डे, बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी छन्।

यस प्रकरणमा इन्द्रजितका छोरा निरज र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनीहरूलाई प्रहरीले फरार सूचीमा राखेको छ।

यो प्रकरणमा सबैजसोको बैंक खातामा पीडितले बुझाएका रकमको कारोबारको विवरण भेटिएको छ जुन उनीहरूविरूद्ध बलियो प्रमाण बनेको प्रहरीको दाबी छ।

प्रहरीले यसमा संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ। ६० दिनभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ।

भुटानी शरणार्थीको पहिचान गर्ने भन्दै २०७६ साल जेठमा बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनेको थियो। उक्त कार्यदलका अनुसार शरणार्थीहरू कसैलाई अमेरिका लगायत तेस्रो मुलुकमा पुनर्वास गरिने थिएन।

कार्यदलको उक्त प्रतिवेदन मन्त्रिपरिषदमा पठाइएको थियो। तर त्यसमा नक्कली शरणार्थीहरूको नाम थपेर अर्को प्रतिवेदन तयार गरेको पाइएको थियो। गिरोहले राजनीतिक अधिकारीहरूसँग मिलेर नक्कली नाम थपिएको प्रतिवेदन देखाएर उनीहरूलाई विदेश लैजाने भन्दै रकम उठाएको पाइएको हो। उनीहरूले एक व्यक्तिबाट ५ देखि ५० लाख रूपैयाँसम्म उठाएको अनुसन्धान अधिकारीहरूले बताएका छन्।

यसरी पैसा बुझाएको भन्दै एक सय जनाभन्दा बढी प्रहरीको सम्पर्कमा आएका हुन्।

 

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com