काठमाडौं । महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । रामगोपालपुर नगरपालिका वडा नम्बर १ बसबिट्टीमा हिजो साँझ आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागेर ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् ।
उनको अहिले जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक सुमन सिंहले जानकारी दिए ।
कन्चट नजिक र दाहिने कुम माथिको भागमा गोली लागेका यादवलाई अस्पताल भर्ना गरिएको छ । उनीमाथि गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
आक्रोशित स्थानीयले मण्डललाई पनि कुटपिट गरेका थिए । स्थानीयको कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराइ थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीलिप गिरीले बताए ।
श्रवण यादवलाई दुई वटा गोली लागेको र अहिले उपचार चलिरहेको चिकित्सक सौरभ कर्णले बताए । उनले गोलीले रगत नलीलाई नछोएकाले बढी रक्तश्राव हुन नपाउँदा बिरामी खतरामुक्त रहेको बताए । त्यस्तै गोली लागेका यादवका आफन्त सुदीपकुमार यादवले कुकुरका लागि झगडा हुँदा गोली चलाएको बताए ।
प्रकाशित मिति: २० असार २०८०, बुधबार
प्रतिक्रिया