रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाएपनि आफ्नो पार्टी प्रतिपक्षमा बस्ने जनाएका छन् । अहिलेको जनादेशले त्यही दिएको बताउँदै उनले अहिलेसम्म पार्टीको निर्णय यही भएको प्रष्ट पारेका हुन् ।

आजबाट रुपन्देहीको भैरहवामा सुरु भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका नेता ढकालले भने–‘वास्तवमा जनादेश पनि यहि हो, र ८४ को चुनावका लागि यसरी तयार हुने ग्राउन्ड नयाँ र पुरानो दुवैलाई उपयुक्त हुन्छ ।’

advertisement

एक पक्षले एमाले कांग्रेस मिलेर सरकार बनाउन चाहेपनि तत्काल त्यो संभव नदेखिएको उनले बताए । लडाकु शिविरमा भएको भ्रष्टाचार प्रकरण बाहिर आउने त्रासले जुनसुकै तरिकाले माओवादी सरकारबाट बाहिर बस्न नचाहेको उनको विश्लेषण छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनाउन अर्कै देशका मान्छे पटक पटक दिल्ली धाएको आफै बताउनु गम्भीर विषय भएको बताउँदै प्रधानमन्त्रीको पदमा बसेर राष्ट्रिय हित विपरीत बोलेकाले यसको मूल्य धेरै महंगो पर्ने बताए । ‘एमालेले राजीनामा मागिरहेको छ, संविधानको मर्म अनुसार राजीनामा पनि विकल्प दिएर जानपर्नसक्छ ।
एमालेले काङ्ग्रेसलाई सहयोग गरेर सरकार बनाओस् तर लडाकु शिविर प्रकरणका कारण माओवादीसँग प्रतिपक्षमा बस्ने हिम्मत छैन, उसले सरकार छोड्न सक्दैन । काङ्ग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन्, रास्वपा प्रतिपक्षमा बस्छ’ उनले भने ।

प्रकाशित मिति: २३ असार २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com