काठमाडौं । क्रिप्टो कारोबार, सट्टेबाजी र गैरकानुनी विज्ञापन प्रसारण गरेको अभियोगमा ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले चार अभियोगमा कलाकारसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त मुद्दामा अभियुक्त बनाइएकाहरूको सोमबारदेखि न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा बयान लिइनेछ । बयान सकिएपछि बेल्बासेकै इजलासमा थुनछेक बहस हुनेछ ।
थुनछेक बहस सकिएपछि उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने वा तारेखमा राख्ने आदेश हुनेछ।

advertisement

पक्राउ परेका ११ मध्ये दिनेश खड्का र अनिता धितालसित क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगसहित बरामद भएको ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाको बिगो दाबी गरिएको छ । उक्त कसुरमा उनीहरूविरुद्ध बिगोको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजायको माग गरिएको छ ।

यस्तै, उनीहरूविरुद्ध अनलाइन जुवातास वा सट्टेबाजी गराएको आरोपमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ । साथै, कसुरको प्रमाण दबाएको अभियोगमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म उनीहरूलाई जरिवानाको माग गरिएको छ ।

यसरी खड्का र धितालले एउटै घटनामा एकभन्दा बढी कसुर गरेको भन्दै कुल सजायको थप आधा सजाय पनि गर्न अभियोगपत्रमा माग गरिएको छ ।

यसैगरी, सट्टेबाजी गर्न प्रयोग भएको वानएक्सबेटसम्बन्धी विज्ञापन आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गराएको भन्दै कलाकारहरू बेगम नेपाली, रोशन खतिवडा, अलिस राई, राजु पौडेल (राजु मास्टार), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), जलन घर्तीमगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेलविरुद्ध विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिम कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ ।

प्रकाशित मिति: २५ असार २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com