एजेन्सी । भारतको एक अदालतले गलत समाचार लेखेको अभियोगमा पत्रकार र सञ्चारगृहबाट पीडितलाई २ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ।

दिल्ली उच्च अदालतले तेहेल्का डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल र मेसर्स तेहेल्का डटकमलाई दुई करोड क्षतिपूर्ति गर्न आदेश दिएको हो।

न्यायाधीश नीना वंशल कृष्णाको इजलासले सेवानिवृत्त सैनिक अधिकृत ए एस अलुवालियालाई निजहरूबाट उक्त रकम क्षतिपूर्तिस्वरुप भराउने आदेश भएको हो।

सन् २००१ मा मेजर जनरल अलुवालियाले सैन्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै तेहेल्का डटकमले गोप्य कारबाही (स्टिङ अपरेसन) गरेर खरिदसम्बन्धी विवरण सार्वजनिक गरेको थियो।

तेहेल्काले सार्वजनिक गरेका भ्रमपूर्ण समाचार सामग्रीबाट आफ्नो मानहानी भएको जिकिर गर्दै जनरल आलुवालियाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनीमाथि प्रतिरक्षा सामग्री आयातमा ठूलो घोटाला गरिएको आरोप लगाइएको थियो।

प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर तेहेल्काका दुई पत्रकारले स्टिङ अपरेसन गरेका थिए । उनले एक शिशी ब्लु लेबल ह्विस्की र १० लाख घुस मागेको श्रव्य सामग्री तेहेल्काले प्रसारण गरेको थियो।

उक्त सामग्री प्रसारण हुनेबित्तिकै भारतीय सेनाले उनीमाथि छानबिन थालेको थियो । छानबिनबाट प्रसारित श्रव्य सामग्री असत्य भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो ।
न्यायाधीश कृष्णाले भ्रामक समाचारबाट पीडितको चरित्र हत्या भएको सार्वजनिक मानप्रतिष्ठामा ठूलो आघात पुगेको र क्षमायाचनाबाट समेत त्यो आघात नमेटिने जनाउँदै उक्त रकम क्षतिपूर्ति भर्न आदेश दिएकी हुन् ।

प्रकाशित मिति: ७ श्रावण २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com