काठमाडौं । काठमाडौं महानगरपालिकाले शङ्खमुलको दोभानमा सञ्चालन भइरहेको ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा अवरोध गरेको छ।
सार्वजनिक स्थलमा अनुमति विना धार्मिक महोत्सव सञ्चालन गरेको सूचनाको आधारमा महानगर नगर प्रहरीको टोली शङ्खमुल पुगेको थियो।
अनुमति विना हो–हल्ला हुनेगरी धार्मिक कार्यक्रम भइरहेको भन्ने गुनासो आएपछि कार्यक्रम नगर्न आयोजकलाई निर्देशन दिइएको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । नगर प्रहरीको अवरोधका कारण केही घण्टा धार्मिक महोत्सव प्रभावित बनेको थियो ।
आयोजकले वडा कार्यालयमार्फत अनुमति लिएरै भएपनि धार्मिक महोत्सवलाई निरन्तरता दिने अडान राखेको थियो । सोही अडान बमोजिम आयोजक समिति वडा कार्यालयमा अनुमति लिन गएपछि महानगरको टोली फर्किएको छ ।
ओमकार फाउण्डेसन र दोभान विकास समितिको आयोजनामा १ साउनदेखि शङ्खमुलको दोभानमा धार्मिक महोत्सव सञ्चालन हुँदै आइरहेको छ ।
धार्मिक महोत्सवमा कोटेश्वर, शान्तिनगर, शङ्खमुल लगायत क्षेत्रका १३ वटा धार्मिक तथा सामाजिक संघसंस्थाहरु सहभागी भएका छन् ।
प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलबार
प्रतिक्रिया