काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहमा बस्ने घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी डा. केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउने संगठित प्रयास भइरहेको भन्दै सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । डा. केसीले आयोगका सहअध्यक्षसमेत रहेका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई पदीय जिम्मेवारीबाट च्युत भएर माफियाहरूको प्रयासमा साथ दिइरहेको आरोप लगाए ।
स्वास्थ्य शिक्षाका विभिन्न विषयमा सीटीईभीटीमा भर्ती भएका पार्टीका कार्यकर्ता तथा माफियाले अवैध रूपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षामन्त्री राईले केही नगर्नुले त्यस्तो आशंका जन्माएको उनले बताए ।
डा. केसीले सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न पनि माग गरेका छन् । उनले दोषी पदाधिकारीलाई बर्खास्त गर्न र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन पनि आग्रह गरे ।
डा. केसीले हालका उपाध्यक्षको पदावधि सकिनुअघि नै छनोटको प्रक्रिया टुंग्याएर आयोग एक दिन पनि नेतृत्वविहीन नहुने गरी नियुक्ति गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।
प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार
प्रतिक्रिया