काठमाडौं । राजस्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको तस्करीको १०० किलो बढी सुन गाल्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बुझाएको छ । उक्त सुन अबको केही दिनमा गाल्न सुरु हुनेछ ।

केन्द्रीय बैंकको विभागमा सुन गाल्नका लागि एउटा मात्रै मेसिन छ । विभागका अधिकारीहरुका अनुसार सो मेसिनले एक पटकमा १० किलो मात्रै सुन गाल्न सक्छ । झण्डै १० वर्षअघि टक्सार विभागले किनेको सो मेसिनले १० किलो सुनसहितको वस्तु गालेर सुन छुट्ट्याउन मात्रै २० देखि ३० मिनेट लाग्छ । तर, त्यसमा सुनको गुणस्तर छुट्ट्याउन भने अझै धेरै समय लाग्छ।

 

विभागका प्रमुख थानेश्वर आचार्यकाअनुसार टक्सारमा बुझाएको सुन गाल्न करिब १६ पटक २० देखि ३० मिनेटका दरले मात्रै समय लाग्छ । ‘धेरै समयअघि किनेको एउटा मात्रै मेसिन छ,’ आचार्यले भने, ‘थप किन्ने खोजेको हो, तर किन्न सकिएको थिएन । अहिले आएको सुन एक दिनमा गाल्न चाहिं सकिन्छ कि ।’
आचार्यकाअनुसार आफूहरुसँग एउटा मात्रै मेसिनका कारण सुन गाल्न समय लाग्ने भएपछि सुन गाल्नका लागि तस्करबाट बरामद भएको मेसिन प्रयोग गर्नेबारे राजस्व अनुसन्धान विभागसँग कुरा भइरहेको छ ।

‘सुन गाल्न पर्ने छ, सरकारी निकायसँग एउटा मात्रै मेसिन छ,’ आचार्यले भने, ‘तस्करकै चार वटा त बरामद नै भए । समातिएका मेसिन पनि मगाएर सुन गालौं भनेर राजस्वका महानिर्देशकलाई भनेको छु ।’ टक्सार विभागकाअनुसार राजस्वले बरामद गरेको मेसिन राष्ट्र बैंकको भन्दा ठूलो देखिएको छ ।

राजस्व अनुसन्धान विभागले १० गते नयाँ बजारको सोह्रखुट्टेबाट चिनियाँ तस्करको एक गोदाममा छापा मारेको थियो । सो क्रममा ६६ थान सुन झिकिसकिएको अवस्थामा ‘ब्रेक शु’ र २ थान सुन गाल्ने मेसिन बरामद गरेको थियो । यस्तै, १३ साउनको शनिबार राति टोखामा विभागले गरेको छापामा थप २ वटा मेसिन बरामद भएको थियो । विभागले त्यो मेसिनको क्षमता परीक्षण गरी नसकेको जनाएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com