काठमाडौँ । एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन्।
अध्यागमन विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका हुन् ।
विभागका अनुसार यो सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्याङ्क छैन।
नेपालमा अघिल्लो आवको तुलनामा गत आवमा विदेशी कामदारको आगमन समेत बढेको पाइएको छ । आव २०७८/७९ मा २ हजार ८९२ जना कामदार भिसामा नेपाल आएको आँकडा रहेको छ । त्यसअगाडीको आव २०७७/७८ मा ३ हजार ३३१ जना विदेशी नेपालमा कामदार भिसामा आएका थिए।
गत आर्थिक वर्ष २०७९/८० मा कीर्तिमानी संख्यामा नेपाली श्रमिक कामको खोजीमा विदेशिएका थिए । यस आवमा एक वर्षमा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीका लागि पुगेको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको एकीकृत आँकडा हो ।
प्रकाशित मिति: २१ श्रावण २०८०, आइतबार
प्रतिक्रिया