काठमाडौं । शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर आज मृत्यु भएको जङ्गली हात्तीको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ।

ट्याङ्कीमा फसेर मृत्यु भएको हात्तीलाई दुई वटा ब्याक हो लोडर (जेसीबी) मेसिनको सहायाताले निकालेर खाल्डो खनी त्यसमा राखेर दाहसंस्कार गरिएको छ । खाल्डामा हात्ती राखेपछि धूपबत्ती गरी कात्रो ओढाई, फूलमाला लगाई अबिर दलेर दाहसंस्कार गरिएको सामुदायिक वनका अध्यक्ष लोकेन्द्रप्रसाद जोशीले बताए । उनका अनुसार हात्ती राखिएको खाल्डोमा तीन क्विन्टलभन्दा बढी नून छर्किएको थियो।

यी सबै प्रक्रिया पूरा गरेपछि खाल्डोमा हालिएको हात्तीलाई उपस्थित सबैले माटो दिएपछि खाल्डो पुर्ने कार्य गरिएको थियो ।
‘हिन्दू परम्पराअनुसार हात्तीलाई भगवान् गणेशको अवतारका रूपमा लिइन्छ’, जोशीले भने, ‘त्यही भएर हात्तीलाई विधि विधानअनुसार दाहसंस्कार गरेका हौँ ।’

मरेको हात्तीको दर्शन गर्न स्थानीय बासिन्दाको सामुदायिक वन परिसरमा भीड लागेको थियो ।

स्थानीय अर्जुन मल्लले हात्तीलाई भगवान् गणेशको अवतारका रूपमा लिइने भएकाले दर्शन गरी फूलमाला चढाएर फर्किएको बताए । हात्तीलाई खाल्डोमा राखेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राविधिकले स्वास्थ्य परीक्षण गर्ने कार्यसँगै नाप लिने कार्य गरेका थिए । घटनास्थलमा मुचुल्का बनाउने कार्य कर्मचारीले गरेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले हात्तीलाई बुद्धिमान् प्राणीका रूपमा लिइने गरिएको बताए । ‘सेफ्टी ट्याङ्कीमा परेर हात्तीको मृत्य भएको पहिलो घटना देखेँ’, उनले भने, ‘हात्तीले जहिले पनि सुँढले छामेर मात्रै पाइला चाल्ने गर्दछ, कमजोर भए त्यस ठाउँमा जाँदैन, यो घटनामा त्यो भएको देखिएन ।’

मरेको हात्ती पोथी रहेको छ । हात्तीको उमेर अन्दाजी ४० वर्ष रहेको निकुञ्जका प्राविधिकको भनाइ छ । झुण्डबाट छुट्टिएर यस क्षेत्रमा पुगेको हुन सक्ने बताइएको छ । जङ्गली हात्तीको झुण्ड सामुदायिक वन क्षेत्रमै रहेको स्थानीय बासिन्दाको भनाइ छ । प्रत्येक वर्ष चुरे क्षेत्रका सामुदायिक वनमा भारतीय दुधुवा नेशनल पार्कबाट हात्तीको झुण्ड यहाँ आइपुग्ने गरेका छन् ।

प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com