चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमल नगरमा लागेको आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा लागेको आगो राति २ बजेदेखि निभाउन सुरु गरिएकोमा बिहान ७ बज्दा मात्र पुर्ण रुपमा नियन्त्रणमा लिन सकिएको हो ।
आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् भने मानवीय क्षति भने भएको छैन ।
विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ ।
नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा लागेको आगोले वरपरका बासिन्दा हरु त्रसित भएका थिए । चार वटा दमकलको सहयोगमा राति २ बजेदेखि निभाउन सुरु गरिएको आगो बिहान ७ बज्दा मात्र नियन्त्रणमा आएको हो ।
भरतपुर महानगरपालिकाको दमकलले आगो निभाउन सुरु गरेको थियो । तर एउटा मात्र दमकलले आगो निभाउन नसकेपछि खैरहनी नगरपालिकाका दुईवटा र नेपाली सेनाको एउटा दमकल बोलाएर आगो निभाउन थालिएको थियो।
करिब २ बजेतिर आगो लागेको सूचना प्रहरीले पाए त्यसलगत्तै वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालयको टोली आगो लागेको स्थानमा पुगेको थियो भने
आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी पनि खटिएका थिए ।
सबैको प्रयासमा आज बिहान ७ बजेको समयमा आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको हो । पुर्ण क्षतिको विवरण भने आउन बाँकी नै रहेको डिएसपी अधिकारीले बताए ।
प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार
प्रतिक्रिया