काठमाडौ । फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीले आफ्नो खातामा पठाएको १० लाख रुपैयाँ फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले नमानेको बताएका छन्।
प्रहरीसँगको सोधपुछमा अनमोलले स्क्रिप्ट मन नपरेपछि आफूले खेल्न अस्वीकार गरेको समेत बताए । ‘निर्माताले १० लाख रुपैयाँ मेरो खातामा हालिदिएको हो । मैले फिर्ता लैजानूसभन्दा पनि उहाँहरुले मान्नुभएन’ अनमोलको भनाई उध्दृत गर्दै अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।
ती अधिकृतका अनुसार निर्माता कम्पनी सुदर्शन थापा प्रोडक्सनले भने अनमोलबाट १ करोड ५ लाख रुपैयाँ दाबी गरेको छ । उसले प्राविधिक लगायतका अन्य पक्षमा उक्त रकम खर्च भैसकेको जनाएको छ । ‘दुई पक्षबीच सम्झौता पत्र पनि देखिएको छैन’ ती अधिकृतले भने ।
शुक्रबार पक्राउ परेका अनमोललाई प्रहरीले चिरायु अस्पतालबाट आइतबार दिउँसो महानगरीय प्रहरी परिसरमा लगेको थियो । अनमोललाई आइतबार जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
सुदर्शन थापा प्रोडक्सनको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध आपराधिक विश्वासघातको उजुरी दर्ता गराएकी थिइन् । जसअनुसार प्रहरीले शुक्रबार साँगाबाट अनमोललाई पक्राउ गरेको थियो । सोही दिन राती छातीमा समस्या आएको भन्दै अनमोल महाराजगंजस्थित चिरायू अस्पतालमा भर्ना भएका थिए ।
प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार
प्रतिक्रिया