जनकपुरधाम । सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास दुई दिनपछि रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले उनलाई ५ सय रुपैयाँ जरिवाना तिराएर रिहा गरेको हो ।
थुनामुक्त भएलगत्तै उनले जानकी मन्दिर पुगेर पूजापाठ गरे । उनलाई साधुसन्त, महन्तले मन्दिरमा स्वागत गरेका छन् ।
असोज १२ गते जनकपुरधाममा गौहत्याविरुद्ध गरिएको विरोध कार्यक्रमा धर्मगुरु आचार्यले विवादित अभिव्यक्ति दिएका थिए । उनलाई मंगलवार सुनसरी प्रहरीले पक्राउ गरेको थियो । आचार्य श्रीनिवासले धनुषामा बोलेको हुँदा उनलाई पक्राउ गर्न धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । सुनसरी प्रहरीले उनलाई धनुषा प्रहरीको जिम्मा लगाएपछि जिल्ला प्रशासन कार्यालयमा पेश गर्दा जरिवाना गराएर छाडिएको हो ।
धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले आचार्यमाथि लागेको मुद्दा जरिवाना तिराएपछि बन्द भएको बताए ।
प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार
प्रतिक्रिया