धनगढी । इजरायलमा मारिएका चार विद्यार्थीको शव आफन्तले बुझेका छन्। आइतबार नेपाल ल्याइएका ती शव आजै धनगढी पुर्याइएको थियो।
इजरायलमा मारिएका १० मध्ये चार जनाको शव आज ल्याइएको हो। फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइएको विद्यार्थीहरुको शव धनगढी पुगेको हो।
नेपाली सेनाको हेलिकप्टरमार्फत् धनगढी पुर्याइएका ती शव परिवारले बुझेका छन्। चारवटै शवलाई आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुर्याउने व्यवस्था गरेको थियो। दार्चुला मालिकार्जन गाउँपालिका–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव आफन्तको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
न्यौपानेको शव गएराति ल्याइएको थियो भने धामी र विष्टको शव आइतबार बिहान र चौधरीको शव दिउँसो नेपाल ल्याइएको थियो। गत असोज २० गते हमास समूहको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए।
प्रकाशित मिति: ५ कार्तिक २०८०, आइतबार
प्रतिक्रिया