काठमाडौं । नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएको भन्दै अस्पताल भर्ना भएका छन् ।

जिल्ला अदालत धनुषाले सिरोहियालाई दुईपटक गरेर ६ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले उनलाई शुक्रबार थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।

यसरी अदालतबाट हिरासत म्याद थप भएपछि सिरोहिया अस्वस्थ भएको भन्दै अस्पतालमा भर्ना भएका छन् । उनलाई जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना गरिएको छ ।

सिरोहियाका कानुनी सल्लाहकार रमन कर्णले सिरोहियाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको बताएका छन्। प्रहरी हिरासतमा पुग्ने केही आरोपितहरूले प्रहरीको हिरासत छल्न बिरामी भएको भन्दै अस्पतालमा भर्ना हुने गर्दै आएका छन्।

सिरोहियाले पनि त्यही गरेको हल्ला चलेपछि उनका कानुनी सल्लाहकार कर्णले भनेका छन्, ‘उहाँलाई साँच्चीकै स्वास्थ्य समस्या हो । पहिलेदेखि नै सुगर, उच्च रक्तचाप र मुटुको समस्या थियो । अहिलेको स्थिति बढ्दै जाँदा हार्ट अट्याक कै खतरा छ । स्वास्थ्य समस्या नहुँदा त उहाँ हिरासतमै हुनुहुन्थ्यो । शुक्रबार साँझदेखि समस्या देखिएपछि अस्पताल भर्ना भएको हो । हिरासत छल्नका लागि होइन ।’

गत मंगलबार प्रहरीले सिरोहियालाई काठमाडौंबाट पक्राउ गरी धनुषा लगेको थियो । शुक्रवार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल गरिएको हो ।

प्रकाशित मिति: १२ जेष्ठ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com