काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आइसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् ।

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन् । उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष चन्द त आइसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन्।

विश्वकप खेल्ने टिमका लागि आइसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ । जसले गर्दा उनीहरु बिजनेस क्लासमा यात्रा गर्छन् भने अमेरिका बसाईको खर्च पनि आइसीसीले नै व्यहोर्ने गर्छ।

आइसीसले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको कोटा उपलव्ध गराएको थियो । क्यानकै सदस्य दिवाकर घले टिम लिडरको रुपमा रहेका छन् । नेपाली टिम झण्डै १ महिना अघि गए पनि घले भने गत साता मात्रै अमेरिका प्रस्थान गरेका थिए । यस्तै, अर्का केन्द्रीय सदस्य प्रदीप मजगैंया म्यानेजरको भूमिकामा रहेर टिमसँगै गइसकेका छन् । अध्यक्ष चन्द नेपाली कांग्रेसका वैतडी सभापति पनि हुन् । उनले काठमाडौंको नार्गाजुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई पनि विश्वकपका लागि अमेरिका लगेको सामाजिक सञ्जालबाट प्रस्ट हुन्छ । सचिवसहित अन्य केन्द्रीय सदस्यहरु पनि केही दिनमै अमेरिका प्रस्थान गर्ने तयारीमा छन् ।

विश्वकपका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका अन्य व्यक्तिहरु पनि जाने तयारीमा रहेको बुझिएको छ ।तर, नेपाली क्रिकेट टिमलाई विश्वकपमा पु¥याएका सन्दीप लामिछानेको भने भिसा नपाउँदा अमेरिका जाने प्रकृया अन्यौंलमा छ । लामिछानेको विश्वकप खेल्ने अन्यौंल भएका बेला क्यानका पदाधिकारीहरु श्रीमतिसहित अमेरिका गएपछि सामाजिक सञ्जालमा क्यानको आलोचना भएको छ ।

यसअघि सन्दीपको भिसा २०२५ सम्म रहेकोमा उच्च अदालत पाटनबाट सफाइ पाएपछि भिसा रद्द भएको जानकारी गराइएको थियो । त्यसपछि नयाँ प्रक्रिया सुरु गर्दा अमेरिकी दूतावासले उनको भिसा रिजेक्ट गरेको थियो । यसबीचमा क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन सकेको छैन । जसका कारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको उनी निकट स्रोतले जनाएको छ । भिसाको विषयमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग कुरा गर्न जाँदा मन्त्रीले घुमाउरो तरिकाले आफूले नसक्ने जनाउँ दिइसकेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले भिसाको लागि प्रयास जारी राखिएको जवाफ सन्दीप निकट स्रोतलाई दिए पनि आज दिनभरीमा सकारात्मक परिणाम नआए सन्दीपले विश्वकप खेल्न नपाउने निश्चित जस्तै छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com