काठमाडौं । ताप्लेजुङ मालपोत प्रमुख लेखा पनेरु महतलाई विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर गर्दै जिम्मेवार कर्मचारीले भ्रष्टाचार गर्नुले देशको सुशासनप्रति जनआस्था गिर्दै गएको जनाएको छ । भ्रष्टाचार मुद्दामा कसुर प्रमाणित भएकी महत उनै कर्मचारी हुन्, जो राष्ट्रपतिबाट उत्कृष्ट राष्ट्रसेवकका रूपमा जनसेवाश्री चतुर्थ पदकबाट विभूषित भएकी थिइन् ।
ताप्लेजुङको मालपोत कार्यालय प्रमुख महतले घुस लिएको भन्दै ०७९ असारमा दायर मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गत १२ माघमा फैसला गरेको थियो ।
उनले सेवाग्राहीसँग घुसबापत एक लाख ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको थियो । हालै आएको उक्त फैसलाको पूर्ण पाठमा महतले सेवाग्राहीको काम गरिदिन घुस रकम लेनदेनका लागि लामो समयदेखि बाध्य बनाएको उल्लेख छ ।
उनले सेवाग्राहीसँग प्रत्यक्ष घुस माग गरेको अडियो र रकम बुझेको भिडियो अदालतमा पेस भएको थियो ।
प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार
प्रतिक्रिया