काठमाडौं । त्रिपालकाण्डमा मुछिएका पूर्वसचिव डा. रमेश प्रसाद सिंह राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । गत जेठ २४ गतेको मन्त्रिपरिषद बैठकबाट सिंह योजना आयोगको सदस्यमा नियुक्त भएका हुन् ।
जसपा नेपाल सरकारबाट बाहिरिएपछि सोही पार्टीको कोटाबाट सदस्य बनेका उमाशंकर प्रसादले राजीनामा दिएपछि योजना आयोगमा एक सदस्य पद रिक्त थियो । सो ठाउँमा अशोक राई नेतृत्वको जसपाको कोटाबाट पूर्वशहरी विकास सचिव डा. सिंह नियुक्त भएका हुन् ।
जेठ २४ को मन्त्रिपरिषद बैठकले नियुक्त गर्ने निर्णय गरे पनि उनी कार्यभार सम्हाल्न भने नआइसकेको राष्ट्रिय योजना आयोग स्रोतले बतायो ।
डा. सिंह २०७२ को भूकम्पताका त्रिपाल खरिदको भुक्तानी प्रकरणमा मुछिएका थिए । भुकम्प पीडितहरूका लागि शहरी विकास मन्त्रालयले त्रिपाल खरिद गरेको थियो । माता इन्टरप्राइजेज, ए.एस. इन्टरप्राइजेज, दीपकिरण प्रिन्टिङ एन्ड ट्रेडर्स र अजय शुभ ट्रेडर्सले त्रिपाल आपूर्ति गरेका थिए । त्रिपाल आपूर्तिका क्रममा भ्रष्टाचार भएको आरोप लागेपछि भुक्तानी प्रक्रिया रोकियो ।
विशेष अदालतले उनीहरुलाई सफाइ दिँदै मुद्दा किनारा लागे पनि शहरी विकास मन्त्रालयले त्रिपाल आपूर्तिको भुक्तानी नदिएपछि आपूर्तिकर्ताहरु मन्त्रालयविरुद्ध उच्च अदालत पुगे। सो मुद्दामा उच्च अदालत पाटनले तीन महिनाभित्र रकम भुक्तानी गर्न र यदि भुक्तानी नगरे पाँच सय रुपैयाँ जरिवाना हुने आदेश सुनाएको थियो । उच्च अदालतको सोही आदेशविरुद्ध सिंह सर्वोच्च अदालत गएका हुन् । सर्वोच्चमा सो मुद्दा विचाराधीन छ ।
उच्च अदालत पाटनले आदेश कार्यान्यवयन नभएको भन्दै २०८० जेठ २ गते शहरी विकास मन्त्रालयलाई पत्र लेखेर ताकेतासमेत गरेको थियो ।
प्रकाशित मिति: ३ असार २०८१, आइतबार
प्रतिक्रिया