काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनभित्र गोली लागेर मृत भेटिएका प्रहरी जवानले एक युवतीका कारण आत्महत्या गरेको खुलेको छ ।
प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको कपनस्थित केन्द्रीय विशेष कार्यदलमा दरबन्दी भई संघीय संसद् सुरक्षा वेशमा कार्यरत दोलखाको मेलुङ गाउँपालिका-४ घर भएका प्रहरी जवान २२ वर्षीय अजीत गोलेको एक युवतीसँग पाँच महिनाअघि इन्गेजमेन्ट भएको थियो । पारिवारिक सहमतिमै विवाह गर्ने योजनाअनुसार युवतीसँग इन्गेजमेन्ट गरेका गोलेले ती युवतीलाई दुबईमा काम गर्न पठाएका थिए ।
डेढ लाख बढी खर्च गरेर युवतीलाई विदेश पठाएपछि ती युवतीले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो । त्यसपछि तनाब रहेका उनले आत्महत्या गरेको प्रहरी स्रोतको दाबी छ । संसद् भवनको पश्चिमपट्टिको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका गोले आज बिहान ८ बजे मृत भेटिएका थिए । गोलेले संसद् भवनको बाँयापट्टि रहेको शौचालयमा आफैंले बोकेको राईफलले निधारमा फायर गरेका हुन् ।
घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइल समेत बरामद भएको थियो । घटनास्थलमा भेटिएको उक्त मोबाइलबाटै आफैंलाई गोली हानेको प्रारम्भिक तथ्य खुलेको हो ।प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो । उक्त कुरा उनीहरुको मोबाइलमा भेटिएको म्यासेजबाट पुष्टि भएको प्रहरीले जनाएको छ। प्रेमिकासँग विवाद भएको बेलामा पटक-पटक उनले ‘मर्छु’ भन्दै म्यासेज पठाउने गरेको समेत भेटिएको छ ।
आज (बुधबार) बिहान आत्महत्या गर्नुअघि समेत ‘मर्छु’ भन्दै म्यासेज गरेको र त्यसपछि भिडिओ कल गरेको समेत देखिएको छ । ‘भिडिओ कल र घटना पनि एकै समयमा भएको पाइएको प्रहरी स्रोतले जानकारी दियो । भुईँमा बन्दुक राखेर निधारतर्फ तेर्साएर खुट्टाले ट्रिगर दाबेको जस्तो देखिएको प्रहरीले जनाएको छ । उनले आफैंले बोकेको इन्सास बन्दुकबाट १ राउण्ड गोली हानेको पाइएको छ ।
प्रकाशित मिति: ६ असार २०८१, बुधबार
प्रतिक्रिया