काठमाडौं । चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादीत सर्वाधिक लोकप्रिय वाइ वाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ आज हस्तान्तरण गरेको छ ।
आईसिसि टि-२० बिश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सीजी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।
नेपाल राष्ट्रिय टिम टी-२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइ वाइले प्रत्येक रनका लागि रू. १ हजार, प्रत्येक चौकाका लागि रू. ८ हजार, प्रत्येक छक्काका लागि रू. १२ हजार उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसैगरी प्रत्येक विकेटका लागि रू. १५ हजार, प्रत्येक अर्धशतक वापत रू. ५० हजार, प्रत्येक शतक वापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो । त्यसैगरी सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि रू. ३० लाख उपलब्ध गराउने वाइ वाइको घोषणा थियो।
विगत २० वर्ष देखि नेपाली क्रिकेटको सहयात्री सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजारगरी रू. ९ लाख ४४ हजार भएकोमा उक्त रकममा रू. ५६ हजार थप गरि हस्तान्तरण गरिएको हो । बुधबार ललितपुरको होटल भिभान्तामा आयोजित समारोहवीच सीजी फुड्सका सिइओ प्रदीप पुडासैनीले क्यानका सचिव पारश खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
उक्त समारोहमा बोल्दै सिइओ पुडासैनीले टी-२० विश्वकपमा सहभागि राष्ट्रिय टिममा आवद्ध खेलाडीहरूलाई नेपालको राष्ट्रिय झण्डा विश्वकपको मैदानमा फहराउन सफल भएकोमा बधाई एवं धन्यवाद दिए । ‘चौधरी ग्रुपले नेपाली क्रिकेटको फाउण्डेसन निर्माणमा योगदान गर्दै आएको छ । ‘अहिले हाम्रो राष्ट्रिय टिम टी-२० विश्वकपमा खेल्नुलाई म ठूलो उपलब्धी मान्छु’, पुडासैनीले भने । ‘निकट भविष्यमा नेपाली राष्ट्रिय टिमले महत्वपूर्ण उपाधी सहित नेपाललाई गौरवान्वित गराउनेछ भन्नेमा मलाई विश्वास छ ।’ चौधरी ग्रुपले आगामी दिनमा पनि नेपाली क्रिकेटको विकासमा सहयात्रा गर्ने जानकारी पनि दिए। उक्त अवसरमा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटलाई जगैदेखि बलियो बनाउन चौधरी ग्रुपले पुऱ्याउँदै आएको योगदान उच्च रहेको बताए।
वाइ वाइले प्रायोजन गरेको यू-१९ प्रतियोगितमा आफुले वाइ वाइ को जर्सी लगाएर मैदानमा खेलेको पनि राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका खड्काले स्मरण गरे । नेपाल आईसिसि टि-२० विश्वकपमा खेल्न सफल भएको अवसरमा लामो समयदेखि पुरूष अण्डर-१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अण्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत रू. ३० लाख तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि रू.३० लाखगरी जम्मा रू. ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा पनि गरेको छ । उक्त रकम क्यानसँगको समन्वयमा निकट भविष्यमा हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।
यसैगरी वाइ वाइले नेपाली क्रिकेटप्रेमी दर्शकलाई हौसला तथा उत्साह प्रदान गर्ने उद्देश्यले विश्वकप अवधिभर वाइवाइ क्रिकेट ‘प्रेडिक्ट एण्ड विन कन्स्टेन्ट’ सञ्चालन गरेको थियो। जस अन्तर्गत प्रथम, दोस्रो, तेस्रो पुरस्कार विजेतालाई क्रमशः रू. १ लाख, रू. ५० हजार, रू. २५ हजार तथा ‘टुर्नामेन्ट प्रेडिक्सन’ अन्तर्गत ४ जना प्रत्येक विजेतालाई रू. १५ हजार नगद पुरस्कार पनि प्रदान गरिएको छ ।
प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार
प्रतिक्रिया