काठमाडौँ । देब्रे हात भाँच्चिएर उपचारका लागि आएका एक जना बालकको दाहिने हातमा प्लास्टर गरिएको तस्बिर मंगलबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको लापरबाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीलाई सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन् ।
अस्पतालले बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको भन्दै मंगलबार केही बेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए । भाइरल भएका ती बालक बझाङको दुर्गाथली गाउँपालिका-७, दौलाका ७ वर्षीय सुनील दौल्याल हुन् ।
आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका सुनीललाई उनका दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्याएका थिए । सोमबार दिउँसो तीन बजेतिर अस्पताल पुर्याइएका उनको एक्स-रे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखियो । चिकित्सकले शल्यक्रिया गर्नु पर्ने भन्दै सुनीललाई वार्डमा भर्ना हुन लगाए ।
केही बेरमा आएका नर्सहरूले हातमा प्लास्टर गर्नुपर्ने भनेर बालकलाई अर्को कोठामा लगे । कुरुवा गएका आदेश सोही कोठाको बाहिर राखिएको कुर्सीमा बसेका थिए । प्लास्टर सकिएपछि ‘भोलि अपरेसन हुन्छ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई आदेशको जिम्मा लगाए । आदेश पनि सुनिललाई लिएर अस्पतालको क्यान्टिनमा खाना खान गए । ‘क्यान्टिनमा पुगेपछि हेर्दा त भाँच्चिएको हातमा नभई अर्को हातमा प्लास्टर गरिएको रहेछ,’ आदेशले भने, ‘मैले भिडियो बनाउँदै गरेको देखेपछि क्यान्टिनका कर्मचारीले डाक्टरलाई खबर गरेछन् । तुरुन्तै आएर भाइलाई भित्र लगे । पहिलाको प्लास्टर फालेर फेरि अर्को हातमा लगाइदिए ।’ ‘गल्तीले अर्को हातमा प्लास्टर भएछ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई लिएर गएको आदेशले बताए ।
मंगलबार साँझ शल्यक्रियापछि बुधबार अस्पतालले सुनीललाई डिस्चार्ज गरेको छ । भाँच्चिएका हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङका हाडजोर्नी विशेषज्ञ डाक्टर दीपक खड्काले बताए । प्लास्टर गर्ने क्रममा अस्पतालका कर्मचारीको कमजोरी भएको भन्दै उनले यो मानवीय त्रुटि भएको बताए ।
प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार
प्रतिक्रिया